बाजुरा भुकम्प : १२५ घरमा पूर्ण क्षति, पीडितहरू खुला आकाशमा भाेकै, राज्य निरीह, जनता आक्राेसित
सुदूरपश्चिमकाे पहाडी जिल्ला बाजुरामा शनिबार बिहान सबेरै भुकम्प गएकाे थियाे । बिहान ४:१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गयो । जगन्नाथ गाउँपालिका– ५ गोत्रीलाई केन्द्रविन्दु बनाएर एकाबिहानै गएको भूकम्पले मानवीय क्षति हुन पाएन । तर, १२५ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । भूकम्प आएपछि घरबाट भागेर बारीको पाटामा पुगेका पीडितले दिनभर मात्र होइन, रातिसम्म पनि राज्यको उपस्थिति महसुस गर्न पाएनन् ।
स्थलगत रिपोर्टिङका लागि साँझपख जगन्नाथ– ५ मा पुग्दा भूकम्पपीडितहरू गाउँमा भएका केही थान थोत्रा पाल जुटाएर बारीको पाटामा शीत छेक्ने वासस्थान बनाउँदै थिए । १० दिने सुत्केरीदेखि वृद्धवृद्धासम्म खुला आकाशमुनि आगो बालेर रात कटाउने बन्दोबस्त गर्दै थिए । मिर्मिरेमै घर छाडेर बाहिरिएका उनीहरूले केही खान नपाएको गुनासो गर्दै थिए । राज्यले रातिसम्म भोक टार्ने चिउरा र शीत छेक्ने पालसम्म उपलब्ध नगराएको गुनासो उनीहरूको छ ।
भूकम्पले केन्द्रविन्दु बनाएको वडा नं. ५ मा मात्रै १२५ घरमा पूर्ण क्षति भएको वडाको प्रारम्भिक तथ्यांक छ । आफ्नो वडामा १२५ घरमा पूर्ण क्षति भएको वडाध्यक्ष गौरी सार्कीले बताए । तर, आंशिक क्षति भएका घरहरूको हिसाब गर्न नभ्याइएको उनको भनाइ छ । केन्द्रविन्दुआसपासका गाउँमा भएको क्षतिको विवरण पनि आउन सकेको छैन ।
वडाध्यक्ष सार्कीले भूकम्पबाट विस्थापित भएकालाई राहतको व्यवस्था गर्न नसकिएको स्वीकार गरे । ‘हाम्रो यतातिर माटो र ढुंगाले बनेका घर छन् । १२५ घर बस्नै नमिल्ने गरी भत्किएका छन् । सयौँ मान्छेहरू विस्थापित भएका छन् । तर, हामीले राज्यस्तरबाट पाल, खाद्यान्नलगायत केही पनि वितरण गर्न सकेका छैनौँ,’ राति पौने ११ बजेतिर उनले भने, ‘पालिका अध्यक्षसँग समन्वय गरेको छु, भोलि (आइतबार) बिहान पालिका विपत् व्यवस्थापन समिति बैठक बस्दै छ । के गर्ने भनेर बैठकबाट निर्णय हुन्छ । पालिकाको आयस्रोतले भ्याएसम्म पाल र खानपानको व्यवस्था गर्छौँ ।’ जिल्ला प्रशासनबाट पनि भूकम्प प्रभावित क्षेत्रमा कोही नआएको उनले बताए ।
पीडित बिहानदेखि रातिसम्म भोकभोकै छन् । तर, पालिका अध्यक्ष कालीबहादुर शाही पनि भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गरेपछि आइतबार पालिका विपत् व्यवस्थापन समितिको बैठक बसेर मात्रै राहतबारे निर्णय लिन सकिने जवाफ दिन्छन् । ‘क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । आइतबार पालिका विपत् व्यवस्थापन समितिको बैठक बसेर राहतबारे निर्णय लिएर अगाडि बढ्छौँ,’ उनले भने ।-नयाँ पत्रिकामा खबर छ ।