
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागी बिशेष नीति निर्माण गर्नुपर्छ – गृहमन्त्री बस्नेत
काठमाडौं,४ जेठ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागी बिशेष नीति निर्माण गर्नुपर्ने बताएका छन् । उनले पिछडिएका क्षेत्रका जनताको स्वास्थ्यस्थितिलाई मध्यनजर गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताए ।
मंगलबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको ‘पिछडिएको क्षेत्रमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम संचालनका लागि सम्भावना र चुनौती’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आवश्यकताका बीचबाट स्थापना भएको प्रतिष्ठानलाई आवश्यक पर्ने सबै साधनस्रोत सरकारले पूरा गर्ने बताए ।
जुम्लामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेको अवस्थामा आइपुग्नु ठूलो सफलता भएको बताउँदै प्रतिष्ठानलाई संसारकै सुन्दर र प्रतिष्ठित बनाउन आफू निरन्तर लागिरहने बस्नेतले बताए । मन्त्री बस्नेतले प्रतिष्ठानलाई अझै आवश्यक पर्ने साधन श्रोत सरकारका तर्फबाट उपलब्ध गराउन आफुले पहल गर्ने बाचा गरे ।
कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले प्रतिष्ठानलाई लक्ष्यमा पुर्याउन साझा पहल हुनुपर्ने बताए । मन्त्री सिंहले प्रतिष्ठानलाई अगाडि बढाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै आवश्यक नीति बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए ।
प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा पूर्वसभासद नरेश भण्डारीले प्रतिष्ठानलाई लक्षित समूदायमा पुर्याउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले नेपालका गरिबहरुलाई मात्र होइन ,युरोप , एशिया , अफ्रिका लगायतका गरिबहरुलाई एमबिबिएस अध्ययनका लागी सहयोग गर्ने दाबी गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति पारस आचार्यले एमबीबीएस अध्ययनका लागि सम्भावना र चुनौति विषयबारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानलाई लक्ष्यमा पुर्याउन सकेमा कर्णालीका नागरिकको आयू वृद्धि हुने उनको भनाई थियो।
प्रतिष्ठानका शिक्षा अध्यक्ष डा. धर्मराज श्रेष्ठले प्रतिष्ठानले हाल संचालन गरिरहेको शैक्षिक कार्यक्रमबारे जानकारी गराउँदै शुरु गर्न लागेको एमबीबीएसको सम्भावना र चुनौतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानका रजिष्टार श्याम लम्सालले स्थापनाकालदेखि अहिलेसम्मका गतिविधिबारे प्रकाश पार्दै एमबीबीएस कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए ।
त्यस्तै प्रतिष्ठानका निर्देशक डा. जावेद खानले प्रतिष्ठानद्वारा संचालित शिक्षण अस्पतालले दिइरहेको सेवा, सुविधा र जनशक्तिबारे जानकारी दिएका थिए ।
स्वास्थ्य निर्देशक डा. निरेश थापाले प्रतिष्ठानले दिइरहेको स्वास्थ्य सेवालाई पिछडिएको क्षेत्रका सबै नागरिकसम्म पुर्याउन सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा पिछडिएका क्षेत्रका सांसद मोहन बानियाँ, भरत साउद, रीता शाही, जानकी साउद, डिल्ली काफ्ले, गोमा कुवँर, लालबहादुर रावल, बसुन्धरा रोकाया लगायत प्रतिष्ठानलाई आवश्यक पर्ने नीति नियम निर्माण तथा र बजेटको लागि आफूहरुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
