संघीय गठबन्धनको बालुवाटार घेराउ,प्रहरीसंग झडप
काठमाडौं,४ जेठ ।
मधेशको ४ महिने लामो आन्दोलनबाट आफ्ना माग पुरा नभएपछि राजधानीमा आन्दोलन शुरु गरेको संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ ।
बालुवाटारमा निषेधित क्षेत्रमा धर्ना दिन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । दुई पक्षको झडपका कारण बालुवाटार क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।
भाटभटेनीदेखि झाँकीसहित सुरु भएको आन्दोलनकारीको र्याली प्रधानमन्त्रीको निवास तर्फ बढ्न खोजेपछि सुरक्षाकर्मीसंग झडप निम्तिएको थियो । सरकारविरुद्ध नाराबाजी गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच केहिबेर धकेला धकेल भएको बताईएको छ ।
प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको छ । बालुवाटार क्षेत्रलाई प्रहरीले चार स्थानबाट घेरा हालेको छ ।
दक्षिणमा राष्ट्र बैंक, उत्तरमा पवित्र वर्कसप र पश्चिममा सभामुख निवासभन्दा एक सय मिटर अगाडिसम्म सुरक्षाकर्मी बसेर प्रदर्शन गर्न निषेध गरिएको छ । पूर्वी गेट तर्फ पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो । प्रदर्शनकारीले बिहान १० देखी साँझ ५ बजेसम्म आन्दोलन गर्ने बताएका छन् ।