भण्डारी राष्ट्रपति, ओली प्रधानमन्त्री । कहिले होला मदन आश्रीत हत्याको पर्दाफास ? किन गर्दैछ एमालेले आलटाल ?
जेठ ३, २०५० अर्थात आजभन्दा २३ वर्ष अगाडि । आजकै दिन नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन प्रमूख जिवराज आश्रीत मारिएको दिन । पोखराबाट चितवन जाने क्रममा चितवनको दासढुंगामा उनीहरु सवार गाडि दुर्घटनाग्रस्त भयो र नारायणी नदीमा खस्यो ।
गाडि चालक अमर लामा खोलाको किनारमा जिउँदै र सग्लै भेटिए भने आश्रीतलाई गाडिको सिटमै मृत अवस्थामा भेटिए । मदन भण्डारीको शव घटना भएको १३ दिनपश्चात दुर्घटनास्थलबाट २१ किमी तल चितवनकै गुञ्जनगरमा नदीमा तैरिएको अवस्थामा फेला पर्यो ।
मदन भण्डारी त्यतिवेलाका सबैभन्दा चर्चित वामपन्थी नेता थिए । एमालेका बहालवाला महासचिवमात्रै होइन समकालिन बाम आन्दोलनका महानायकजस्ता नेता थिए । खुलामञ्चबाट तत्कालिन राजा वीरेन्द्रलाई खुल्ला चुनौति दिएको प्रसंग अहिले पनि सबैले सम्झने विषय हो ।
मदन भण्डारी र जिवराज आश्रीत मारिएका हुन् र मारिएको हो भनेर देशव्यापी एमालेले ठूलो आन्दोलन चलायो । जसले गर्दा एमालेलाई स्थानिय निर्वाचनमा भारी मत पनि दिलाउन सहयोग पुग्यो । मदन भण्डारी र आश्रीतको रहस्यमय हत्या भएको १३ वर्ष पछाडि आउँदा उनीहरुको हत्या भएको हो की दुर्घटनामा परेर निधन भएको भन्ने कुराको पुष्टि नभएजस्तो छ । किनभने उनकै पार्टी नेकपा एमालेले त्यसवेलादेखि आजसम्म आउँदा ३ पटक सरकारको नेतृत्व गर्यो भने त्यो भन्दा वढि पटक गृहसहितको महत्वपूर्ण मन्त्रालय सहित सरकारमा सहभागि भइसकेको छ । त्यतिमात्रै होइन मदन भण्डारीकै जिवन संगीनी विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनीसकेकी छीन् । उनी राज्यकै सबैभन्दा सर्वोच्च पदमा विराजमान छीन् । उनी यसअघि पनि उपप्रधानमन्त्री सहितको रक्षामन्त्रालय सम्हालिसकेकी छिन् । उनी एमालेको उपाध्यक्ष जस्तो पदमा समेत बसेर सक्रिय राजनीति गरिन् ।
उनकै समकक्षी नेता केपी ओली नेपालको कार्यकारी पदमा आसिन छन् । उनी पनि भण्डारीको हत्या नै भएको कुरामा शंका छैन भन्दैछन् । तर कसले गर्यो त हत्या ? किन यत्तिका वर्षसम्म पनि भण्डारीको हत्याको छानवीन हुन सकेन ? किन एमालेले त्यस विषयलाई चुनावी मुद्धा मात्रै बनायो ? हत्याको साक्षी रहेका एकमात्र चालक अमर लामालाई किन उनी भइन्जेल एमालेले अनुसन्धानको दायरामा ल्याएन ? एमालेका गतिविधिले उसैप्रति आशंका गर्ने ठाउँ प्रसस्तै छन् । एमालेले भण्डारी हत्याकाण्डको बारेमा जनमानसबाट उठाइएका प्रश्नहरुको जवाफ नदिइ अगाडि वढ्न उसैको लागि प्रत्युत्पादक छ । सरकारका प्रमूख स्थानमा आफू बस्ने अनि कस्लाई दोष दिएर उम्कने ? किन गर्न सकेन छानवीन , किन ल्याएन एमालेले तत्कालिन ओली आयोगको प्रतिवेलन अनि किन सार्वजनीक गरिएन तत्कालिन सरकारबाट गठित अनिल आयोगको प्रतिवेदन ? प्रश्नहरु प्रशस्तै छन् जवाफ कसले दिने कहिले हुन्छ हत्याकाण्डको पर्दाफास ? कहिले होला हत्यारालाई कार्वाही ?
घटनाको कारणहरु पनि छैनन, दुर्घटना हो भने किन हत्या भनिंदैछ ? दुर्घटनास्थलको भुवनावट, दुर्घटना भएको भनिएको घटनाक्रम र चालक अमर लामाको बयान र घटनादेखि आजसम्म विभिन्न पक्ष र एमाले स्वयंले देखाएको गतिविधिले उनको निधन नभई हत्या नै भएको कुरामा अब आशंका रहेन । तर पनि उनको हत्या वा दुर्घटना जे भएपनि उक्त काण्डको पर्दाफास गर्न कसले किन रोकेको छ सार्वजनीक गर ।