वैद्य एकतामा नआए बाबुरामकै जस्तो हालत हुने देव गुरुङको दावी

dev gurung

नेपाल क्रान्तिकारी माओबादीका नेता देब गुरुङले मोहन बैद्यले कम्युनिष्ट धार र राष्ट्रियताको बिषयलाई छाडेर एकतामा नआए बाबुरामकै जस्तो हालत हुने दावी गरेका छन् ।

सोमबार भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा नेता गुरुङले छिट्टै हुन लागेको बिभिन्न माओबादी पार्टी एकिकरणमा बैद्य माओबादी तत्काल नआए पनि अन्य बिकल्प नभएको भन्दै कम्युनिष्ट धार र राष्ट्रियताको मुद्दा छाडे बाबुरामकै स्थानमा पुग्ने दावी गरे ।

एमाओबादी अध्यक्ष प्रचण्डले आफ्नो हठलाई त्याग गरी भएका गल्तीहरुको समीक्षा गर्दै अव नयाँ कार्यदिशातर्फ अग्रसरता दिने भएकाले पार्टी एकीकरण हुने र १३ बुँदे प्रस्तावका आधारमा सहमती भएको गुरुङ्गले जानकारी दिए ।

नेता गुरुङले मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने भन्दै भनेका छन् कि मधेसका नेताहरुले लैनचौर र दिल्लीका गतिबिधिलाई आत्मसाथ गरेर जसरी आन्दोलन जारी राखेका छन् त्यो गलत छ ।

भूकम्पपछि पुनर्निर्माणका सवालमा सरकारले केही गर्न नसकेको भन्दै उनले सँधै भूकम्प पीडितको अवस्था यस्तै देखाएर मुलुकलाई हइटी बनाउन खोजेको आरोप नेता गुरुङले लगाए ।

संबिधान पश्चगामी शैलीको भएपनि यसले संस्थागत गरेका गणतन्त्र, संघीयता र धर्म निरपक्षेता लगायत केहि बिषय सकारात्मक रहेको तर संसदीय प्रणाली लगायत विविध पक्षमा भने आफ्नो विरोध जारी रहने गुरुङको भनाइ छ ।

रासस