एकल गजल गायनमा सन्तोष श्रेष्ठ
काठमाडौं,२ जेठ ।
सन्तोष श्रेष्ठ नेपाली सुगम सङ्गीतको क्षेत्रमा सर्वप्रिय नाम हो । लोक सङ्गीत हुँदै सुगम सङ्गीतको क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ केही वर्षदेखि संगीतको क्षेत्रमा अत्यन्त सक्रिय छन् ।सन्तोष श्रेष्ठद्वारा संगीतवद्ध तिमीले पराई ठानेपछि बोलको गीत डिजिटल संगीतको सीआरबीटीमा नेपाली गीतसंगीतको इतिहासमै सबैभन्दा बढी डाउनलोड हुन सफल भयो । थुप्रै चर्चित गीतका संगीतकार श्रेष्ठ फाल्गुन २४ गते शुक्रबार साँझ दाङमा एकल गजल गायनमा प्रस्तुत भए । सन्तोषको एकल गजल गायनलाई मध्य तथा सुदूरपश्चिम क्षेत्रको पहिलो एकल गजल गायन मानिएको छ। श्रेष्ठले २०६२ सालमा आँसु गजलसंग्रह प्रकाशन गरिसकेका छन् ।
अप्ठेरोमा नडराउन देशको माया गर्नेहरु
अधेँरोमा नहराउ देशको माया गर्नेहरु
गजलकार रमेश सुवेदीको रचनामा देशभक्ति भावको गजलबाट एकल गजल गायनको सुरुवात गरेका श्रेष्ठले कार्यक्रम अवधिभर १२ वटा गजल गाएर मनोरञ्जन प्रदान गरेका थिए ।
मायाका सबै तारहरु छुटाएर जाउ
एक अञ्जुली आँसु छ उठाएर जाउ
गजलकार डा. नेत्र एटमको रचना रहेको प्रेमभावले भरिएको गजल गाउँदा कार्यक्रम हलमा उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
कति खुसी हुन्थे होला तिमलाई आफ्नो मान्छे भन्न पाए,
जुनी–जुनी सयौं जुनी तिम्रै मान्छे बन्न पाए
संगीतकार श्रेष्ठको एकल संगीत रहेको राप्ती अञ्चलको पहिलो गजल एल्वम अनुभूतिमा रहेको प्रवल विष्टको रचनामा रहेको गजल गाउँदै गर्दा कार्यक्रम सभाहल निकै शान्त देखिन्थ्यो ।
वटुवा हो मान्छे भन्नु यो संसारमा
जून जस्तै चम्की हिंड अन्धकारमा
रमेश क्षितिजको रचनामा रहेको सकारात्मक सन्देशमूलक एवम् जीवनदर्शनले भरिएको गजल पनि अत्यन्त गम्भीर शैलीमा प्रस्तुत गरेका थिए।
आँखा मागे आँखा दिन्छु मुटु मागे मुटु
नाइ भन्न सक्दिन म दिन्छु सुटु सुटु
रविन्द्र आशिष शैलीको गजल रचनामा भारतीय गायिका संजीवनीले गायको पहिलो नेपाली गजल पनि राम्रो आकर्षण बनेको थियो ।
कार्यक्रममा सन्तोष श्रेष्ठले माथि उल्लेखितसहित प्रवल विष्टको रचना रहेको तिम्रै केशको , पूर्ण भण्डारी पङ्कजको उनै दिन राम्रा, मधु साश्रुको बिरालो पनि शेर हुन्छ , बोलका गजल गाएका थिए ।
यसैगरी श्रेष्ठले मधु साश्रुको म काटिरहेछु , डा. बिष्णु रजनीको कुहिरोको मागजस्तै , शशी शर्मा मजगैयाँको तिम्रै यादमा भित्रभित्रै , हस्त गौतम मृदुलको माया अमर छ भन्थ्यौ बोलका गजल प्रस्तुत गरेका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा भएको श्रेष्ठको एकल गजल गायन अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा.अमर गिरीले सन्तोष श्रेष्ठ पश्चिम नेपालकै तारा भएको बताएका थिए । त्यस अवसरमा बोल्दै श्रेष्ठले अहिले सम्म मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट एकल गजल गायन नभएको र आफू जन्मे, हुर्केर अगाडि बढेको जन्मभूमि गृहजिल्लाबाटै सुरुवात गरुँ भनेर एकल गजल गायन कार्यक्रम गरेको बताए । यसअघि तीन वर्ष अगाडि श्रेष्ठले दाङमै एकल साँझ सम्पन्न गरेका थिए । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद् दाङका सचिव दीपक शर्मा समीरले गरेका थिए ।
भिडको बिचमा संग्रहनीय एल्वम मधुरता
गीतकारद्धय डा.विष्णु रजनी र नवराज पोखरेल सुमनको आधुनिक गीत(गजलसंग्रह मधुरता एक भव्य कार्यक्रमविच सार्वजनिक गरिएको छ । काठमाडौमा भएको कार्यक्रममा गीतकार कालीप्रसाद रिजालको हातबाट उक्त एल्बम विमोचन गरिएको हो । संगीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत रहेको मधुरता एल्बममा गायक(गायिकाहरू अन्जु पन्त, मनोजराज सिवाकोटी, युवराज चौलागाई, शिव परियार, निशा देशार, भविन ढुंगानाले स्वर दिएका छन् । विभिन्न छ वटा गीत समावेश सो एल्बमलाई रेकर्डिङ(मिक्सिङ भोला पौडेलले र मास्टरिङ प्रदिप कुमार उपाध्यायले गरेका छन् भने एरेन्ज सुदीप सागरको रहेको छ ।
गीतकार नवराज पोख्रेल सुमनको स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रममा डा. विष्णु रजनी सानैदेखिको साथी भएको र एक अर्काको भावना मिल्ने भएकोले केही गरौ भन्ने हेतुले यो एल्बमको सृजना गरेको बताए ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेको शुभकामना सहितको भिडियो सन्देश देखाईएको थियो । स्वास्थ्यका कारण उहाँ भने कार्यक्रममा सहभागी हुनुभएन । भिडियो सन्देशमा उनले यो एल्बममा समावेश गीतको लेखन शैलिको तारिफ गरेका थिए । यस एल्बमका गीतकारमध्येका एक डा. विष्णु रजनी हाल अमेरिकामा छन् । उक्त कार्यक्रममा भिडियो सन्देश छोेड्दै उनले आफ्नो आमाबुबाले आफुलाई सधै सहयोग र संस्कार दिएकोमा आभार प्रकट गरेका छन् ।२३ वर्ष अगाडिको सपना पूरा गरिदिएकोमा संगीतकार सन्तोष श्रेष्ठ र नवराज पोख्रेल सुमनलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा गीतकार कालीप्रसाद रिजालले अहिले नेपाली सुगम संगीतको क्षेत्रमा केवल संख्यात्मक गीतसंगीतको भिड देखिएको बेलामा मधुरता भिडको बिचमा संग्रहनीय एल्वमत बनेको धारणा ब्यक्त गरे।संविधानविद् भिमार्जुन आचार्यले एल्बममाथि समीक्षा गर्दै हरेक हिसाबले मधुरता एल्बम उत्कृष्ट बनेको दाबी गरेका थिए ।
संगीतकार सन्तोष श्रेष्ठले डा. विष्णु रजनी र नवराज पोखरेल सुमनका साच्चिकै राम्रा रचना भएकोले संगीत गर्दा खासै अफ्ठेरो नभएको मन्तब्य ब्यक्त गरे । कार्यक्रमको संचालन मन्दिरा ढुंगेलले गरेकी थिइन् ।
विभिन्न समाजसेवी, बुद्धिजीवी, प्रवुद्ध व्यक्ति, गायक गायीका एवं पत्रकारको उपस्थिति रहेको उक्त कार्यक्रममा गायक भविन ढुंगानाले डा. विष्णु रजनीको रचनामा रहेको तिम्रो साथ पाउँदा र गायिका निशा देशारले नवराज पोखरेल सुमनको रचनामा रहेको बिर्सियौ तिमीले मधुरता एल्बममा समावेश गीतहरु गाएका थिए ।