छोडिए बैद्य, बादलको अध्यक्षतामा नेकपा क्रान्तिकारी माओवादीको बैठक, एमाओवादीसँग एकताको औपचारिक निर्णय
काठमाडौं, १ जेठ ।
एकीकृत नेकपा माओवादीसँग एकता गर्ने विषयमा मतभेद भएपछि दुई खेमामा बहस गरिरहेको मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक महासचिव रामबहादुर थापाको अध्यक्षतामा शुरु भएको छ ।
पार्टी अध्यक्ष बैद्य एमाओवादीसँग एकता गर्ने विषयमा सकारात्मक नदेखिएपछि डेढ महिनादेखि रोकीएको केन्द्रीय समितिको बैठक पटकपटक स्थगित हुँदै आएको थियो ।
नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा शुरु भएको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले एमाओवादीसँग पार्टी एकताको औपचारिक निर्णय गर्नेछ । पार्टी एकताको निर्णय गर्न बैठक बसिरहेको बादल पक्षीय केन्द्रीय सदस्य युवराज भट्टराईले मूलखबरलाई जानकारी दिए । उनका अनुसार बैठकमा सहभागि नभएका अन्य केही सदस्य पनि एकतामा थपीने निश्चित भएको छ ।
बादल पक्षले वैशाख २८ गते नै पार्टी एकताको निर्णय गर्ने तयारी गरे पनि अध्यक्ष मोहन वैद्यले केही दिन पर्खैर सँगै एकतामा जान सकिने आसय व्यक्त गरेपछि आजसम्मका लागि बैठक स्थगित गरीएको थियो । बैद्यले नै जेठ १ गतेलाई केन्द्रीय समितिको बैठक आव्हान गरेपछि बैठकमै सबै विषयमा छलफल गरि निर्णय लिने तयारी बादल पक्षको थियो । तर बैद्यले हिजोमात्रै आजको बैठक अनिश्चितकालको लागि स्थगित गरेपछि बादल पक्षलाई बैठक राख्न बाटो खुलेको हो । यस सँगै एकता प्रक्रियाबाट मोहन बैद्य तत्कालका लागि छुटेका छन् ।