मधेसवादी दलहरुले शनिवारदेखि काठमाडौंमा आन्दोलन गर्ने

Federal-Alliance-madheshi-750

काठमाडौं,३१ वैशाख ।

मधेसवादी दलहरुले शनिवारदेखि काठमाडौंमा आन्दोलन गर्ने भएका छन् ।
मोर्चाले पछिल्लो पटक वैशाख १५ गतेदेखि देशब्यापी आन्दोलन घोषणा गरेको हो ।
संघीय गठबन्धनको नामबाट देशब्यापी आन्दोलन घोषणा गरेको मोर्चाको पछिल्लो आन्दोलनका कार्यक्रम भने प्रभावकारी हुन सकेको छैन ।

१५ दिने आन्दोलनपछि गठबन्धनले जेठ १ गते राजधानीमा प्रदर्शन गर्ने तयारी गरेको हो । मधेस आन्दोलन गरी मधेसी जनतालाई मात्र दुःख दिएर समस्या समाधान नहुने भन्दै राजधानी केन्द्रित आन्दोलन गर्न विभिन्न पक्षले सुझाव दिएपछि मोर्चाले राजधानी केन्द्रित आन्दोलनको तयारी गरेको मधेशी मोचाले जनाएको छ ।
मोर्चाले राजधानी केन्द्रित प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा हेरेको छ । राजधानी केन्द्रित आन्दोलनको पहिलो दिन शनिवार रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तथा आइतबार सिंहदरबार घेराउ गरिने संघीय गठबन्धनले आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले आफूहरुको आन्दोलनमा दमन भए प्रतिरोध गरिने बताए । उनले दमन गरिए गृहयुद्ध निम्तिन सक्ने समेत चेतावनी दिए ।

उनले सरकारसँगको वार्ताको औचित्य नभएको पनि उल्लेख गरे । दुई दिनअघि मात्रै सरकारकातर्फबाट उपप्रधानमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कमल थापाले मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएका थिए ।

सरकारसँग पटक–पटक वार्ता भएपनि सरकारले आफूहरुको माग सम्बोधनमा चासो नदेखाएको यादवले बताए । सरकार आफूहरुको मागप्रति गम्भीर नभएसम्म वार्ताको औचित्य नभएको उनले बताए ।