सानो गल्तीले बिग्रन सक्छ बच्चाको मिर्गौला
बरिष्ठ मृृगौला रोग बिशेषज्ञ डा. ऋषी कुमार काफ्ले
बच्चामा मिर्गौला रोग
अहिले कतिपय १४–१५ वर्षको बच्चा किड्नी फेल भएर आएका हुन्छन् । किन यस्तो भयो भनेर सोध्दा पहिले सानोमा पिसाब पोल्थ्यो, पिसाबको उपचार गरेको थियो, बीचमा आफैँ ठीक भयो अहिले आएर एकैपटक यस्तो समस्या देखियो भन्ने जवाफ हुन्छ ।
कसरी असर हुन्छ
उदाहरणका लागि बच्चा सानो हुँदा सामान्य रोग टन्सिल भयो । एक हप्तामा उसको खुट्टा सुनियो, मुख सुनियो, त्यो वेलामा परीक्षण गर्दा पिसाबमा खराबी देखिन्छ । अनि ९० प्रतिशत त्यो आफैँ हराउँछ । सुनिएको पनि बस्छ, बच्चा पनि ठीक भयो, खान पनि थाल्यो भन्ने हामी सोच्छौँ । बच्चा राम्रो भयो । तर, पुन: पिसाब परीक्षण गर्दैनौँ, तर पिसाब खराब भइरहेकै हुन सक्छ । हाम्रोमा दोहोर्याएर जाँच्ने चलन छैन । एकपटक पिसाबमा संक्रमण देखियो भने औषधि खाएर निको भयो भन्ने मानसिकता छ । तर, पूर्ण रूपमा निको भयो/भएन भन्ने पुन: परीक्षण गर्ने चलन छैन । अझ हाम्रो समाजमा केसम्म पनि चलन छ भने चिकित्सकले तोकेर दिएको औषधि पनि आफूलाई ठीक भयो भनेर बीचैमा छाड्ने गरिन्छ । सानो बच्चामा भएको समस्या वेलैमा समाधान नगर्दा ८/१० वर्षपछि मिर्गौला नै काम नलाग्ने अवस्थामा पुगेका उदाहरण पनि छन् ।
खानपान मुख्य कारण
बच्चाको मिर्गौला बिगार्ने प्रमुख समस्या पिसाब रोकिनु, पिसाब फेर्न नसक्नु हो । त्यसले पछि गएर पनि समस्या हुन्छ । अर्को समस्या भनेको बच्चाले पानी नपिउनु पनि हो । यदि तपाईं/हामीले ध्यान दिन सकेनौँ भने उनीहरू पानी नखाने, बाहिरको खाना (जंक फुड) मात्र खाने हुन्छन् । त्यो बाहिरको खाना स्वस्थकर हुँदैन । यो कुरा बच्चाको बुबाआमा सबैलाई थाहा छ । तर पनि रोक्न सकिएको छैन । घरको खाना राम्रो हो भन्दाभन्दै पनि बाहिरको खाना खुवाउँदा बच्चाको स्वास्थ्यलाई कमजोर बनाउँछ । यी सबै कुराले सबैभन्दा बढी मिर्गौलालाई मार पारिरहेको हुन्छ ।
उपचारमा पहुँच छैन
समयमा नै उपचार नुहुनुको प्रमुख कारण चिकित्सकसम्मको पहुँच नहुनु नै हो । किनकि धेरैजसो विशेषज्ञ चिकित्सक काठमाडौं र सुगममा मात्र रहेका छन् । काठमाडौं आउनै गाह्रो, आए पनि पालो कुर्नुपर्ने, खर्च बढ्ने विभिन्न जाँच गर्दा थप पैसा खर्च हुनेजस्ता समस्या देखिन्छ । चिकित्सकको विशेषज्ञतामा जनताको पहुँच सहज छैन ।
रोकथाम
मिर्गौलाको लक्षण खोज्नतिर लाग्यो भने हामीले रोगलाई पालेर बसेका हुन सक्छाँै । त्यसका लागि समय–समयमा जाँच गराउनुपर्छ । स्वस्थ जीवनशैली नै रोकथामको प्रमुख उपाय हो ।
सरकारले मिर्गौला रोगको विषयमा विद्यालय तहमा नै पाठ्यक्रमको विकास गरी अध्यापन गराउनुपर्छ । साथै कम्तीमा १५ वर्षमुनिका बालबालिकामा मिर्गौला रोगको नि:शुल्क
उपचार गरिनुपर्छ ।
बच्चाको मिर्गौला जोगाउन
- स्वस्थ खाना मात्र खुवाउने
- नियमित पानी पिउने बानी बसाउने । यसले पिसाबको संक्रमण हुन दिँदैन र मिर्गौलामा स्टोन हुने सम्भावना कम गराउँछ ।
- राम्रो पोषिलो र स्वस्थकर खानाले बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
- नियमित शारीरिक व्यायाम गराउनुपर्छ यदि बाहिर शारीरिक व्यायाम गराउन सकिँदैन भने पनि कोठामा नै साधारण योग
गराउन सकिन्छ । - सरसफाइमा ध्यान दिनुपर्छ फोहोर बढी भयो भने पिसाबमा संक्रमण बढाइदिइन्छ ।
- संक्रमण दोहोरिन दिन हुँदैन । बारम्बार दोहोरियो भने मिर्गौला ड्यामेज हुन सक्छ वा मिर्गौलामा पत्थर पनि बनाइदिन सक्छ ।
- त्यसका साथै वर्षमा कम्तीमा एकपटक पिसाबको सामान्य रुटिङ जाँच गर्दा पनि मिर्गौला बचाउन सकिन्छ ।
मिर्गौला रोगको उपचार इतिहास
नेपालमा मिर्गौला रोगको उपचार (डायलसिस) सुुरु भएको करिब ३० वर्ष पुगेको छ । त्यसअघि देशमा उपचारको विधि थिएन । प्रत्यारोपण गर्न विदेश जानुपथ्र्यो, डायलसिस गराउनका लागि पनि विदेश जानुपथ्र्यो । त्यो परिस्थितिबाट अहिले २० वर्षयता एउटा फड्को नै मारेका छौँ । प्रत्यारोपणदेखि डायलसिस नेपालमा नै हुन थालेको छ । वीर अस्पतालमा नै डायलसिस सुरु भएको २५ वर्ष नाघेको छ भने अन्यत्र सेवा विस्तारित भएको पनि २० वर्ष कटेको छ ।
तर, हाम्रो सेवा विस्तारले परिस्थितिअनुसारको सर्वसाधारणमा जानकारी र पहुँच पुर्याउन सकेको छैन । मानिसको अपेक्षाअनुसार सेवा पुगेको छैन । मिर्गौला रोगका बारेमा सर्वसाधारणमा जानकारी नहुँदा थाहा नै नपाई यस्तो भयो, यस्तो हुँदो रहेछ भन्नेहरू धेरै छन् । प्राय:गरी मिर्गौला बिग्रिसकेको अवस्थामा मात्र अस्पताल आइपुग्ने गरेका छन् ।