खुलामञ्चमा बसपार्क सरेसंगै पसल पनि सर्दा समस्या
भृकुटीमण्डपस्थित पुरानो बसपार्कबाट आउने जाने सवारीसाधनलाई टुँडिखेल खुलामञ्चमा सारेसँगै व्यापारीले पसलसमेत सार्दा बसपार्कमा समस्या भएको छ ।
काठमाडौँ स्तम्भ (टावर) निर्माणको काम सुरु गर्नका लागि गत वैशाख २२ गते बुधबारदेखि पुरानो बसपार्कमा रहेको पार्किङ खुलामञ्चमा सारिएको थियो । यातायातका साधन सारेसँगै व्यापारीले खुलामञ्चमा पसल सारेका र सानो स्थान भएको हुँदा गाडी आवतजावत गर्नसमेत समस्या भएको चालक बताउछन् ।
थानकोटदेखि बसपार्कसम्म बस चलाउने चालक रमेश कार्कीका अनुसार सानो ठाउँ छ त्यसमा पनि व्यापारीले विभिन्न किसिमको पसल राख्दा पार्किङ गर्ने स्थानको समस्या छ, यसमा महानगरको ध्यान जान आवश्यक छ ।
त्यसैगरी, लामो समयदेखि नयाँ बानेश्वरदेखि पुरानो बसपार्कको रुटमा माइक्रो चलाउँदै आउनुभएका विनोद खड्काका अनुसार सानो ठाउँमा पनि विभिन्न किसिमका पसल राख्दा यातायातका साधन आवतजावत गर्न निकै समस्या भएको छ । बसपार्कमा त ठाउँ ठूलो थियो, पसल राख्दा पनि त्यति समस्या थिएन, उनले बताए ।
चालकले स्थानको अभाव भनिरहँदा खुलामञ्चमा पानीपुरी र चटपटेको व्यापार गर्दै आउनुभएका रामेछाप, सैलुङकी राममाया तामाङले भने बसपार्कमा गर्दै आएको व्यापार यस स्थानमा सारेकी हुँ, केही काम गरी खानै परयो, के गर्नु ? भने ।
“बसपार्कमा जति नै आम्दानी गर्दै आएकी छु, अहिले दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्म आम्दानी गर्ने गरेको छु, त्यसमा करिब रु आठ सय नाफा बच्छ, यसले परिवारको खर्च धान्न सहयोग पुगेको छ”, राममायाले भनिन ।
त्यसैगरी, सोही स्थानमा फलफूलको व्यापार गर्दै आउनुभएका महेश यादवले पनि बसपार्कमा जति नै आम्दानी गर्दै आएको बताए ।
यसैबीच, महानगरपालिकाले अन्य स्थानमा रहेका सडक छेउका पसल हटाउँदै आएको र खुलामञ्चमा रहेका सबै पसल तत्काल हटाउने जनाएको छ । हाल झन्डै २० वटा जति विभिन्न पसल खुलामञ्चमा सारिसकेको छ, जुन पसल यसभन्दा अघि पुरानो बसपार्कमा राखिने गरेको थियो ।
काठमाडौँ टावरको निर्माण अवधिभर यातायातका साधन खुलामञ्चबाट नै आवतजावत गर्ने कामपाको भनाइ छ । पार्किङ सारेसँगै स्तम्भ निर्माणको काम सुरु गरिने निर्माणको जिम्मा पाएको जलेश्वर, स्वच्छन्द र विकोइका प्रबन्धक मनोज भेटुवालका अनुसार यातायातका साधनलाई खुलामञ्च सारेसँगै काठमाडौँ टावर निर्माणको काम सुरु भइसकेको छ ।
रु तीन अर्ब ५० करोडको लागतमा निर्माण गरिने बाह्रतले काठमाडाँैं स्तम्भको निर्माण कार्य १८ महिनामा सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । स्तम्भले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ । सो भवनमा व्यवस्थित सिनेमा हल, पौडीपोखरी, रेस्टुराँ, बैंक तथा काठमार्डाैँ महानगरपालिकाको वडा कार्यालय रहनेछ ।
निर्माणको जिम्मा पाएको कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० वर्षसम्म चलाउने, त्यसपछि काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको बताइएको छ ।
रासस