द्वन्दमा खुट्टा गुमाएकी रमिला सोध्छीन्, उजुरी कसलाई दिउँ ?
रमिला भन्दै थिइन् –‘टाटेपाटे तलमाथि उस्तै लुगा लगाएको छ । टाउकोमा पनि टोपीको रंग उस्तै छ । कम्मरमा सानो हतियार (पेस्तोल) बोकेको छ । ठिक्क कदको । न अग्लो न होचो ।’ उनी ठीक १४ बर्ष टेकेकी मात्र के थिइन्, २०५८ सालको कुरा हो । गाउँ नजिकै कतै राती ९ः०० बजेतिर अस्वभाविक उज्यालो भयो । केही होला । सामान्य कुराकानी घरपरिवारमा भयो । सुतिन् । उज्यालो नहुँदै कर्कश स्वरमा धेरै मान्छेको गाईगुईले उनको निन्द्रा भंग भयो । उठिन् । घडि हेर्दा बिहानको २ः२७ भएको रहेछ । यही हो … । एक्कासी बलिष्ट हातद्धारा तानिइन् । अघि पछि हुलको बीचमा उनी एक्लै । उज्यालो हुँदा उनी प्रहरी चौकीमा पु¥याइन् । जहाँ मल, पाल वा यस्तै केही ढुसीको गन्ध आउँथ्यो । पुनः सुनिन् । साप, यही हो… । उनी झसङ्ग भइन् । जे कुरा हो साफ् साफ् भन नत्र… । उनले यो नत्र…को अर्थ बुझिनन् ।
त्यसअगाडि सुनेकी थिइन् । जिउँदै आँखा निकालेर जलाएका कुरा । दिनदाहाडै सामुहिक बलत्कार पछि हत्या गरेका कुरा । हत्या, हिंसा, बलत्कार जस्ता कुराले त्रसित थियो मन । तर भन्ने के हो ? उनले कुनै भेउ पाउन सकिनन् । चारदिशाबाट एकैपटक आउने १६ प्रश्नले उनलाई गिज्याइरह्यो । आँशु आयो तर उत्तर आएन । १० बजेतिर करिब ३ घण्टा रमिलाको पैदल यात्रा पहिलोपटक त्रासदी बोक्दै घर फर्कियो । नौ कक्षामा अध्ययनरत उनी त्यसपछिको धेरै दिन ननिदाएर नै काट्न थालिन् । अझ २ बजेतिर आफ्नो घरमाथि देखिने आकाशको ३ तारा देखेर अझ गम खान थालिन् । उनको दैनिकीमा परेको कठिनाईलाई परिवार र विद्यालयले समेत महसुस गर्न थाल्यो ।
केही महिना डरैडरमा बिताएकी लाहुरे परिवारकी उनी तात्कालिन समयको दङ्गा प्रहरीको गिरफ्तारमा परेपछि अलौकिक संसारकी जस्तै हुँदै गइन् । उनीमा उठेको भित्री मनको मनसाय बुझ्ने समाजमा कोही भएन । एकदिन गाउँमा नाचगानको कार्यक्रम लिएर भूमिगत केही व्यक्तिहरु आए । उनीहरुको सम्पर्कमा नजानिदो तरिकाले उनको झुकाव बढ्न थाल्यो । यसैबीचमा फेरी दङ्गा प्रहरीको गाउँसर्च अभियानले उनीमाथि नै नङ्ग्रा गाड्यो । त्यसबेला भने उनी थिलोथिलो भएर पिटिइन् । बाँच्नकै लागि गाउँ छोड्ने विकल्पमा भूमिगत बनिन् ।
यसरी भूमिगत जीवन रोजेकी रमिला त्यसकालमा गर्नुपर्ने जिम्मेवारीप्रति इमान्दार भएर नै लागिन् । दिइएका जिम्मेवारीलाई कुशलतापूर्वक सम्हालेर अगाडि बढिरहिन् । यसैक्रममा भूमिगत पार्टीले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अनुरुप सैनिक व्यारेकमा ठूलो आक्रमण गर्ने योजना बनायो । त्यस योजनालाई रमिला लगायतको ठूलो जनशक्तिले पूर्ण गर्नुपर्ने भयो । लागे काममा । सफलभयो योजना । राष्ट्रिय÷अन्र्तराष्ट्रिय स्तरमा त्यस आक्रमणको चर्चा परिचर्चा हुनथाल्यो । तर रमिला… युद्धमा आफ्नो मोर्चा सम्हाल्दै गर्दा घाइते हुन पुगिन् । भूमिगत स्वास्थ्यकेन्द्रमा उनको उपचार सम्भव नभएपछि उनलाई उपचारको लागि बाहिर लैजाने क्रममा उनी पुनः गिरफ्तार परिन् सरकारी पक्षबाट । घाइते भएको खुट्टा गिरफ्तारपछि काटियो । उपचारको कुरा त त्यस्तै हो सामान्य मानवीय व्यवहार बाहिर रहेरै पनि प्राण जोगाउन सफल भई अन्तराष्ट्रिय रेडक्रस सोसाइटीको सम्पर्क मार्फत ९ महिने जेल जीवन भोगेर बाहिर निस्किइन् । हाल उनी शारीरिक अपाङ्गताको परिचय पत्र बोकेर उभिएकी छिन् ।
ठीक आजको समयसम्म आउँदा उनले पाएका यातना, जीवनको भोगाई, समाजमा परेको प्रभाव, उनलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार, भूमिगत कालमा ज–जसको प्रशिक्षणले उनलाई मुक्ति या मृत्युको संघारमा उभ्याएको थियो, उनीहरुको जीवनशैली र हालको स्थिति, तात्कालिन समयमा देखाइएको सपना, बर्तमानको अवस्था आखिर के र कस्का लागि उजुरी ?
हो, आज रमिला फेरी प्रश्नका डङ्गुर लिएर उभिएकी छिन् । उनी घाइते हुनुपूर्व त्यस लडाईमा होमिन प्रशिक्षित गर्ने प्रशिक्षकलाई उजुरी हालौ ? या त शुभकामना पठाउने सर्वोच्च कमाण्डरलाई ? वा जसको (अन्यौल) हातबाट गोलि फुत्किएर उनी घाइते हुन पुगेकी थिइन उसलाई ? अझ उपचारबाट बञ्चित बनाएर जेल हाल्ने प्रहरी अफिसरलाई ? कि त सुरुमा भूमिगत बनाउन बाध्य बनाउने ति दङ्गा प्रहरीलाई ?
उजुरीका यी तमाम कुराले आज उनलाई १५ असारको माचो परेको छ । अनिर्णयको बन्दी बनेकी रमिला कुन कुन फाइलको प्रमाण सहित उजुरी गरुन् । के उनले भनेका ड्रेसअफ, हुलिया या त दिइएका यातनाका बयानले सत्य निरुपण तथा मेलमिलाप आयोगले कार्वाही गर्न सक्छ ? आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ्गले कसरी चित्त बुझाएर कैयौ रमिलाका उजुरीलाई लिन सक्लान् ? अनि उजुरी दिन चाहिने प्रमाण र गर्नुपर्ने अनुसन्धानलाई कसरी व्यवस्थित गर्लान् ? यसको सहि योजना तर्जुमा नभएसम्म उजुरीका लागि उजुरी निरर्थक हुनेछ । कमसेकम एक दुईवटा उजुरीलाई सार्थक तुल्याएर कार्वाहीको प्रक्रिया अगाडि नबढ्दा सम्म पीडितलाई राहत मिल्नेमा शंकै छ ।
–गोमा घिमिरे