प्रहरी उपरीक्षकसहित २६१ जना सशस्त्र प्रहरी कारवाहीमा, १ सय जना बर्खास्त १२ जना घटुवामा

apf

 

काठमाडौं, २८ बैसाख ।

सशस्त्र प्रहरी बलले गत  चार महिनाको अवधिमा सशस्त्र प्रहरी उपरीक्षकसहित कुल २६१ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागिय कारवाही गरेको छ । जसमा सिनियर अधिकृत १२ जना, जुनियर अधिकृत १७ जना र विल्लादार जवान २३२ जना छन् ।

शसस्त्र प्रहरी बल मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका प्रबक्ता शैलेन्द्र खनालले सो अवधिमा कूल १ सय जनालाई बर्खास्त गरिएको छ भने १२ जनालाई घटुवा गरिएको  जानकारी दिए । खनालले २७ जनालाई बढुवा रोक्का गरिएको समेत बताए ।

संगठनको नीति विपरितका कृयाकलापमा संलग्न भएकाले उनीहरुलाई विभागिय कारबाही गरिएको उनको भनाई छ । पुस महिनामा सिनियर अधिकृत ३ जना, जुनियर अधिकृत १ जना तथा विल्लादार जवान ६२ जनालाई विभागिय कारवाही गरिएको थियो । माघ महिनामा सिनियर अधिकृत ३ जना तथा जुनियर अधिकृत ५ जना र विल्लादार जवान ६५ जना गरी कुल ७३ जनालाई कारवाही गरिएको थियो  । यसैगरी फागुन महिनामा सिनियर अधिकृत ५ जना, जुनियर अधिकृत ३ जना तथा विल्लादार जवान ४९ जना गरी कूल ५७ जनालाई विभागिय कारवाही गरिएको छ । चैत्र महिनामा सिनियर अधिकृत १ जना, जुनियर अधिकृत ८ जना तथा विल्लादार जवान ५६ जना गरी कूल ६५ जनालाई विभागिय कारवाही गरिएको छ ।

 

सशत्र प्रहरीले गरेका काम–कारवाहीवारे को उपलब्धीमुलक काम कार्वाहीका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवत्ता खनालले संगठनले भष्ट्राचारको सुन्य सहनशिलता नीति अबलम्बन गरेको बताए । अख्तियार र अदालतले गरेको निर्णयलाई आफ्नो संगठनले सम्मान गर्ने उनले बताए ।