सरकारलाई १० अर्ब रुपैयाँ कर बुझायो ,एनसेलले

काठमाडौं,२६ वैशाख ।

Ncell-Logo
सरकारलाई कर नतिरेपछि चौतर्फी दबाबको सामाना गरेको सूचना प्रदायक कम्पनी एनसेलले झण्डै १० अर्ब रुपैयाँ सरकारलाई बुझाएको छ ।
एनसेलले पुँजीगत लाभकर वापत नौं अर्ब ९६ करोड रुपैयाँ सरकारलाई बुझाएको जनाईएको छ । एनसेलले शुक्रबार एभरेष्ट बैंकमा सारेको रकम आइतबार सरकारी कोषमा बुझाएको छ ।

एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै शुक्रबार एभरेष्ट बैंकमा केही रकम राजस्व दाखिला गरेको थियो ।एनसेलले आइतबारसम्म खरिदको आय विवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने बताइएको छ ।

सार्वजनिक गरिएको कारोवारको आधारमा एनसेलले कम्तिमा पनि २२ अर्ब रुपैयाँ राजस्व दाखिला गर्नुपर्ने राजश्व कार्यालयले जनाएको छ ।स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा हाल टेलिया कम्पनी नामाकरण गरिएको तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो ।

सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको दुवै कम्पनीले घोषणा गरेका थिए ।