राष्ट्रपति भण्डारीमार्फत् सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी
काठमाडौं,२६ वैशाख ।
सरकारको आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि नीति तथा कार्यक्रम ल्याउँदैछ । आज संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरिएको छ ।
राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, भूकम्पले पुर्याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडितलाई राहत, स्थानीय निकायको निर्वाचनको तयारी, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय समेटिएको छ ।
आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण, स्वास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने सरकारले जनाएको छ ।
नीति तथा कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
यसअघि संसदमा भएको छलफलमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा भूकम्प प्रभावितलाई राहत दिन प्रभावकारी तथा कार्यान्वयनमुखी नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न माग गरेका थिए ।
सांसदहरुले भूकम्प गएको वर्ष दिन हुँदासमेत सरकारले राहत दिन नसकेको, खुला आकाशमुनी कष्टकर जीवन यापन गर्न बाध्य भएको भन्दै समस्या समाधान गर्न केन्द्रित हुने बजेटमा जोड दिएका हुन् ।
विकास निर्माणमा काम प्रभावकारी हुन नसकेको, राष्ट्रिय गौरवका आयोजनाको पूँजीगत तथा भौतिक प्रगति न्यून रहेको, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्गमा ठेकेदारले काम नगरेको भन्दै गल्ती गर्नेलाई कारवाही हुन नसकेकोमा पनि सांसद्हरुले गुनासो गरे ।
भूकम्पका कारण महत्वपूर्ण एवम् पुरातात्विक महत्वका संरचना ध्वस्त भएको भए पनि त्यसको पुनर्निर्माणमा ध्यान नदिइएको, रोजगारीको खोजीमा हजारौं युवा विदेश पलायन भएको, रोजगारीको माग गर्दै विगत ११ दिनदेखि खुलामञ्चमा एक दर्जन युवा आमरण अनशनमा बसेपनि उनीहरुका समस्या सुनुवाई गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै सांसद्हरुले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भूकम्प प्रभावित जनताले परिचयपत्रसमेत नपाएको, १५ हजार रुपैयाँ राहत पाउनेको संख्या एकदमै कम रहेको, पछिल्लो पटक सरकारले गरेको स्थलगत अनुगमनको क्रममा समेत ठूलो संख्यामा पीडित छुटेको भन्दै गाँउमा द्वन्द्व बढ्ने स्थिति पैदा भएको बताए ।
कार्यान्वयनमुखी र यथार्थमुखी बजेटमा जोड दिदै उनले पूरा हुन नसक्ने नीति तथा कार्यक्रमप्रति जनताको कुनै सरोकार नरहने बताए ।
एमाले सांसद् प्रकाश ज्वालाले बजेट सबै क्षेत्रलाई छुने गरी ल्याउनुपर्ने बताए । उनले आगामी बजेट बिउँको रुपमा छर्ने खालको हुनुपर्ने बताए ।
दुई दिनसम्म चलेको पूर्ब बजेट छलफलमा अर्थमन्त्री विष्णु पौडेलले सांसद्हरुले उठाएका विषयमा जवाफ दिँदै सांसदका उचित सुझाव बजेटमा सम्बोधन गरिने बताए ।