
राष्ट्रपति भण्डारीको २७ बैशाखदेखि हुने भनिएको भारत भ्रमण स्थगित

राष्ट्रपति विद्यादेवी भण्डारीको २७ बैशाखदेखि हुने भनिएको भारत भ्रमण स्थगित भएको छ ।
राष्ट्रपतिको भारत भ्रमण तत्कालका लागि स्थगित भएको जानकारी परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
भण्डारी २७ बैशाखदेखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरिरहेका थिए ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिको भ्रमण नहुने निश्चित भएको जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भ्रमणको अनुमोदन गर्न बाँकी थियो’ उनले भने ।
राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो । त्यस्तै उनी मध्यप्रदेशको उज्जैनमा आयोजना हुने कुम्भ मेलामा पनि सहभागि हुने तय भएको थियो ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको भ्रमण स्थगित भएको बारेमा केही प्रतिक्रिया जनाएको छैन ।
