१ घण्टा ४४ मिनेट संसदमा संबोधन गरेका प्रधानमन्त्री ओलीले के भने ?
काठमाडौं,२३ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका लागी आफू र आफ्नो दल बाधक नरहेको बताएका छन् । उनले आज व्यवस्थापिका संसदको बैठकलाई संबोधन गर्दै यस्तो बताएका हुन् । उनले आफू र आफ्नो दल राष्ट्रिय सहमति गर्न तयार रहेको तर षड्यन्त्र र धोकाको जगमा राष्ट्रिय सहमति नबन्ने भन्दै हालैको राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्ने कुराको बिरोध गरे । उनले भने, “ इमान्दारीताको जगमा राष्ट्रिय सहमति गर्न म र मेरो दल तयार छ , तर राष्ट्रिय सहमती षड्यन्त्र र धोकाको जगमा बन्दैन ।”
उनले संबिधानको कार्यान्वयन,भूकम्पपछिको पुनःनिर्माण र विकास निर्माण गर्ने प्रतिबद्धता सहित राष्ट्रिय सहमती गनुपर्नेमा जोड दिए ।
नेपालमा स्थिरता र स्थायित्व खलबलाउने प्रयास भईरहको भन्दै प्रधानमन्त्री ओलीले अस्थिरताबाट जोगीएर मात्र नेपालले सुशासन,स्वस्छता,पारदर्शिताबाट स्थिरता र स्थायित्वको बाटोमा लाग्न सक्ने दाबी गरे ।
सहमतिको सरकार बनाऔं भन्दाभन्दा मेरो घाँटी सुकेको छ । ओलीले भने, ‘लोकतान्त्रिक विधिले संसदीय अभ्यासभन्दा बढी कुरा संविधान कार्यान्वयन हो, जनताको अपेक्षा पूरा गर्ने कुरा हो । पुनर्निर्माण ठूलो कुरा हो । त्यसका लागि सहमति आवश्यक छ ।’
सरकारले संसद विघटन गर्न लागेको भन्ने हल्लाको आधार नभएको उनले बताए ।
प्रधानमन्त्री ओलीले विचार विमर्श भएको कुरालाई संसद विघटन गर्न लागिएको भनेर हल्ला फैलाइएको गुनासो गरे ।
ओलीले भने, ‘नयाँ छलफल हुँदा, बिचार विमर्श हुँदा पनि हल्लाको आधार बनाएको देखियो । त्यसप्रकारको सोच छैन, संसद बिघटन हुँदैन । हामी संसदको अभ्यासबाट अघि बढ्छौं । सरकार निष्फिक्री छ । सरकार त्यसकारण सरल छ ।’तर, संसदले छोड नभनेसम्म सरकार नछोड्ने बताए ।
‘हामी संसदमै बसेर संसदीय अभ्यास गर्छौं । तर्किने उम्किने जस्केलाबाट हिँड्ने तरिका प्रधानमन्त्रीले गर्दैन,’ ओलीले भने ‘संसदले जतिबेला जरुरी छैन भन्छ म छोडिहाल्छु, संसदले छोड नभनेसम्म छोड्दिन।’
अहिलेको सरकार हटाउनु पर्ने वास्तविक कारण नभएको उनले दाबी गरे । राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको भनेर बोल्दा बिचार पुर्याउन पनि उनले सुझाव दिए ।
हामी बोलिरहेको कुरा जनताले देखिरहेका छन् । जनताले सहि गलत कुरा के हो भनेर छुट्याउँछन् भन्ने कुरा हेक्का राखेर बोल्न आग्रह गर्छु ।’
देशमा विद्यमान समस्याको समाधानका निम्ति खुलस्त छलफलमा आउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सबै दलहरुलाई आग्रहसमेत गरे ।
‘केही असन्तुष्टि छन् भने बसेर छलफल गरौं, चर्चा गरौं । सहमतिको आधारमा औचित्यका आधारमा देशलाई फाइदा पुग्ने गरी गरौं न । त्यसका लागि म तत्पर छु,’ प्रधानमन्त्री ओलीले भने, ‘देशका निम्ति जिम्मेवार दलहरुलाई भन्न चाहान्छु खुलस्त छलफल गरौं । म प्रमुख प्रतिपक्ष दललाई पनि म आग्रह गर्दछु ।’
लोकतन्त्रमा बलियो प्रतिपक्ष चाहिन्छ पनि भन्ने र राष्ट्रिय सहमतिको पनि भन्ने कुरालाई प्रधानमन्त्री ओलीले विरोधाभासपूर्ण भने ।उनले भने, ‘लोकतन्त्रमा प्रतिपक्ष र राष्ट्रिय सहमतिको सरकार यो दुइटै कुरा एकैचोटी कसरी अलिकति तर्क मिलेन कि ।’
प्रधानमन्त्री ओलीले संविधान पुनर्लेखन नहुने स्पष्ट पारेका छन् ।आन्दोलनरत मधेस केन्द्रित दलहरुले संविधान अस्वीकार गर्ने घोषणा गरिरहेकाबेला प्रधानमन्त्री ओलीले आवश्यक परेकाबेला संशोधन गर्न सकिने तर पुनर्लेखन हुनै नसक्ने प्रष्ट पारे ।
‘संविधान पुनर्लेखन हुनैसक्दैन । संशोधन मात्रै गर्न सकिन्छ,’ संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सानासाना कुरामा राजनीति गर्नु हुँदैन ।’
उनले संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै बिभिन्न आवश्यक कानुनहरु निर्माण भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले लामो भाषण गरीरहँदा प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा संसद वैठकमा उपस्थित भएपनि सत्ता साझेदार दलका सहयात्री एमाओवादी अध्यक्ष प्रचण्ड भने सहभागी भएनन । ३ बजे संसद बैठकलाई संबोधन गर्ने भनिएपनि ३ बजेर ५३ मिनेटमा संबोधन गर्न शुरु गरेका ओलीले ५ बजेर ३७ मिनेटमा आफ्नो संबोधन अन्त्य गरेका थिए ।उनले कुल १ घण्टा ४४ मिनेट संसदमा संबोधन गरे ।