एमाओवादीले बर्तमान सरकारलाई नै निरन्तरता दिने
वैशाख २३, काठमाण्डौं ।
आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा जुटेको एकीकृत माओवादीले बर्तमान सरकारलाई नै निरन्तरता दिने भएको छ । पार्टी भित्रको आन्तरिक कारण देखाउँदै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको प्रस्ताव अनुसार वर्तमान सरकार परिवर्तन गर्न नसकिने निर्णयमा पुगेको बताईएको छ ।
अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज विहान लाजिम्पाटमा छलफल भएको थियो । कांग्रेसले एमाओवादी नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेपछि स्थायी समिति बैठक मार्फत सो पार्टीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने हिजो औपचारीक निर्णय गरेको थियो ।
एमाओवादीको निर्णयपछि निराश देखिएका प्रधानमन्त्री केपी शर्र्मा ओलीले द्वन्द्वकालिन घटनाको उचित व्यवस्थापन गर्ने, पुनर्निमाणको काम तदारुकताका साथ अघि बढाउने र संयुक्त सरकारको झल्को दिने गरी कामहरु अगाडी बढाउने र यसका लागी एकीकृत माओवादी समक्ष लिखित सम्झौता गर्ने प्रतिवद्धता जनाएपछि पार्टी निर्णयबाट पछि हटेको एकीकृत माओवादीका एक नेताले जानकारी दिए ।