फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

विराटनगर, २३ वैशाख ।
foram loktantrik
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत ढङ्गले चयन भएको छ।
सो पार्टीको जारी महाधिवेशनको तेस्रो दिन बुधबार खुल्लातर्फ २१ र आरक्षित २१ स्थान गरी ४२ स्थानका लागि ९७ जना आ–आफ्ना उम्मेदवारी दर्ता गराएका थिए। पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीको केन्द्रीय समितिको बैठकले सर्वसम्मत चयन गर्न अधिकार दिएपछि गएराति १२ः३० बजे सर्वसम्मत ढङ्गले चयन भएको पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी दिए।
सर्वसम्मत ढङ्गले खुल्लातर्फबाट चयन हुने सदस्यहरुमा क्रमशः नन्दकुमार सरदार, कामेश्वरप्रसाद साह, गणेश लामा, मोहम्मद मुस्ताक आलम, शिवकुमार गुरमाछाने, छेदीलाल चौंधरी, उमाशङ्कर अरगरिया, सिद्धिकुमार महर्जन, सप्पनकुमार दास र योगेन्द्र चौधरी छन् ।

त्यसैगरी, लक्ष्मण यादव, सुबोधकुमार पोखरेल, प्रेम विसी, मोहम्मद तोफिक खान, निरु कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गोड, हरेन्द्र सिँह, राजकुमार नालगो, प्रदीपकुमार चौधरी र वासुदेव राना रहेका छन् । सोही केन्द्रीय सदस्यको आरक्षित पदमा महिलातर्फ जसवी मण्डल र रुक्मणि मण्डल, आदिवासी (हिमाल–पहाड)बाट साथीमान बल र जयराज सङपोक, लिम्बू, आदिवासी (तराई–मधेस)बाट उषा राजवंशी, शिवनारायण उराव, दलित (तराई–मधेस)बाट कलावतीदेवी पासवान र रमणी राम, दलित (हिमाल–पहाड)बाट सन्तोषी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मालाई छनोट गरिएको छ ।

त्यसैगरी, पिछडावर्गबाट रामलखन ठाकुर बरही र देवनारायण मुखिया तथा खसआर्यबाट शिवप्रसाद दङ्गाल र दूर्गादेवी कोइराला, मधेसीबाट चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायण मेहता, मुस्लिमबाट गफार अन्सारी र मोहम्मद मोहताव आलम एवम् कर्णाली क्षेत्रबाट धनप्रसाद पाण्डेलाई चयन गरिएको छ ।

यसअघि, पार्टीको अध्यक्ष पदमा बुधबार पार्टी अध्यक्ष विजयकुमार गच्छदारको एक मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित सदस्यको आजै अपराह्न शपथग्रहण हुने पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी दिए। रासस