एमाले संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने

काठमाडौं, २१ वैशाख  ।
सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। व्यवस्थापिका संसदको बर्खे अधिवेशन सुरु भएको दिन बसेको एमाले संसदीय दलको बैठकले संसदमा संसद बैठकमा सशक्त, मर्यादित र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।
बैठकले आफ्ना सांसदलाई जेठ एक गतेसम्म उपत्यका नछोड्न निर्देशन दिएको छ। एमालेले संसदमा २६ गते सरकारले पेश गर्ने नीति तथा कार्यक्रम पारित नभएसम्म आफ्ना सांसदलाई विदेश भ्रमण तथा जिल्ला जानसमेत रोक लगाएको हो। नीति तथा कार्यक्रम वैशाख ३१ गते पारित गर्ने कार्यसूचि छ।
प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी ओलीको अध्यक्षमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई अनावश्यक दुःख दिन सुरु गरेको निष्कर्ष निकाल्दै संसदमा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय भएको सांसद शेरबहादुर तामाङले जानकारी दिए।