जेठ १५ गते गणतन्त्र दिवसको दिन सरकारले बजेट प्रस्तुत गर्ने

काठमाडौं, २१ वैशाख  ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानसँगसँगै नयाँ संविधान जारी भए पछिको व्यवस्थापिका संसदको पहिलो बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ। संविधानमा व्यवस्था भए अनुसार जेठ १५ गते बजेट पेस गर्ने योजनासहित व्यवस्थापिका संसद कार्यव्यवस्था समितिले अधिवेशनको मुख्य कार्यभार बारेमा सामान्य कार्यतालिका पनि बनाएको छ।
शितल निवासवाट आएको राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र बाचन गरेर सभामुख ओनसरी घर्तीमगरले बजेट अधिवेशन सुरु भएको घोषणा गरेकी थिइन्। बुधबार र बिहीबार भूकम्प पुर्ननिमार्ण, विभिन्न स्थानमा भएका आगजनीलगायतका समसामयिक कार्यक्रममा बोल्न समय छुटयाइएको छ। वैशाख २३ गतेको अन्तिम समयमा अर्थमन्त्री बिष्णु पौडेलले बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा औपचारिक रुपमा प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

अर्थमन्त्री पौडेलले पेस गरेको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलका लागि दुई दिन छुट्टाइएको छ। जसअनुसार वैशाख २४ र २५ गते सो बिषयमा छलफल हुनेछ। यसैगरी, राष्ट्रपति विद्या भण्डारीले वैशाख २६ गते ४ बजे सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। सरकारले पेश गरेको कार्यक्रममाथि अध्ययन र संशोधन हाल्नका लागि एक दिन छुटाइएको छ। वैशाख २७ गते ११ बजेदेखि ४ बजेसम्म संशोधन हाल्ने समय छुटाइएको छ। सो नीति तथा कार्यक्रम माथि ३ दिनसम्म छलफल गरिनेछ। दलहरुबीच भएको सहमति अनुसार वैशाख २८ देखि ३० गतेसम्मको समय नीति तथा कार्यक्रम माथि छलफल गर्न छुटाइएको छ।

जेठ १ गते देखि १२ गतेसम्म संसद अधिवेसन बस्ने छैन् भने जेठ १३ गते अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण संसदमा पेस गर्ने कार्यतालिका छ। जेठ १५ गते गणतन्त्र दिवसको दिन सरकारले बजेट प्रस्तुत गर्नेछ । सरकारद्वारा प्रस्तुत बजेटका बारेमा जेठ १७ देखि १९सम्म तीन दिन छलफल चल्नेछ। वैशाख २१ गते अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्। लगत्तै, जेठ २१ देखि ३२ गतेसम्म बैठक स्थगित हुनेछ भने जेठ ३० गते भित्रमा बजेट पारित गर्ने गरी ब्यवस्थापिका संसदको तयारी रहेको छ।