
प्रचण्डले चाहानुभयो भने मधेशको समस्या समाधान हुन्छ -भाजपाका उपाध्यक्ष कोशीयारी
विराटनगर, २० बैशाख ।
भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशीयारीले प्रचण्डले चाहेमा मधेशको समस्या समाधान हुने बताएका छन् ।उनले भने, नेपालको समस्या समाधान हुनेमा म चाहीँ पूर्णरुपमा विश्वस्त छु, प्रचण्डले चाहानुभयो भने मधेशको समस्या समेत समाधान हुन्छ । कोशीयारीले नेपालले अब कसैसँगपनि झुक्न नपर्ने बताए ।
सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै नेता कोशीयारीले भने, अब नेपालले कसैसँग पनि झुक्नुपर्दैन, न त नेपालले भारतसँग झुक्नुपर्छ, न त यूरोपियन युनियनसँग, नेपाल आँफै सगरमाथा झैं उज्जवल छ ।
संविधानलाई लिएर नेपाल र भारतबीचको सम्बन्धमा केही दरार उत्पन्न भएको कुराप्रति संकेत गर्दै मधेशको समस्या समाधान भए सबै कुरा आँफै मिल्ने दाबी गरे । उनले भने, संविधान संशोधनको प्रक्रिया सुरु भएको छ, मधेशको मुद्दापनि सम्बोधन भए सबै कुरा ठिक भएर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ ।उनले नेपालको समस्या तत्काल समस्या होस भनेर आफूले पशुपतिनाथसँग कामना गरेको भन्दै समस्या समाधान भए पशुपतिनाथमा विशेष पूजा गर्ने समेत बताए ।
कोशीयारीले आन्दोलनरत मधेशवादी दलका नेताहरुलाई समेत वार्ता तथा सहमतिबाटै निकास खोज्न आग्रह गरेका छन् ।भारत जहिलेपनि नेपाल र नेपालीको शान्ति, समृद्धि र विकास चाहाने बताउँदै नेपालको विकासमा भारत जहिलेपनि सहयोगी बन्ने दाबी गरे । उनले भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीपनि नेपालको विकासप्रति चिन्तित् रहेको स्पष्ट पारे ।
