कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले के भने ?
काठमाडौं,२० वैशाख।
संवैधानिक परिषदले एमालेकी पूर्व सभासद सपना प्रधान मल्ल र एमाले समर्थित पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश हुने रोलक्रमसहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकामा कांग्रेस सांसदहरुले आपत्ति जनाएका छन् ।समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गर्न सोमबार बसेको संसदीय दलको बैठकमा उनीहरुले यस्तो आपत्ति जनाएका हुन् ।
उनीहरुले एमाले नेतृत्वको सरकार स्वतन्त्र न्यायपालिकालाई राजनीतिकरण गर्न तल्लीन रहेको विषयलाई पार्टीले सामान्य रुपमा लिन नहुने बताए । उनीहरुले यस्तो कदमको बिरोध गर्न पार्टीले संसदीय सुनुवाई समितिमा प्रभावकारी भुमिका खेल्नुपर्ने बताए ।
कांग्रेसका सांसदहरुले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्वलाई दबाव समेत दिए । उनीहरुले सकेसम्म कांग्रेसको नेतृत्वमा नभए एमाओवादी नेतृत्वमा सरकार गठनबारे छलफल चलाउन पनि सुझाव दिए।
संसद भवनमा बसेको बैठकमा अधिकांश सदस्यहरुले सबैभन्दा ठूलो दलको नाताले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अबस्था नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि छलफल चलाउन नेतृत्वलाई सुुझाव दिए ।
केपी ओली नेतृत्वको सरकारले निरन्तरता पाए मधेसको समस्या थाँती रहने र संविधानको कार्यान्वयन पनि अलपत्र पर्ने उनीहरुको भनाइ छ ।