
स्विट्जरल्याण्ड संगीतमय बन्दै नेपाली कलाकारले
काठमाडौ, २० बैशाख ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोपस्तरीय कार्यक्रमले स्विट्जरल्याण्ड संगीतमय बन्ने भएको छ । युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगितामा युरोपभरका प्रतिभावान कलाकारहरु एउटै मञ्चमा आएर स्विट्जरल्याण्डलाई संगीतमय बनाउन लागेका हुन् ।
कार्यक्रममा, स्विट्जरल्याण्ड, जर्मनी, स्पेन, लक्जेम्बर्ग, पोल्याण्ड, ईटाली, बेलायत, फिनल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, पोर्चुगल, चेक रिपब्लिक जस्ता युरोपियन मुलुकहरुबाट नेपाली कलाकारहरुले सहभागिता जनाउनेछन् । अन्तराष्ट्रिय कलाकार समाज (इनास) स्विट्जरल्याण्ड एबं ईनास युरोपको आयोजनामा आगामी मे १४ र १५ तारिख बासेलमा कार्यक्रम हुनेछ ।
नयाँ प्रतिभाको बिकासमा इनास सक्रिय
प्रबासमा सांगीतिक जमघटका कार्यक्रमहरु बढी नै हुने भए पनि नयाँ प्रतिभाहरुलाई कदर गर्दै प्रतियोगितात्मक कार्यक्रमहरु भने कमै हुनेगरेको छ । तीन पटक सम्म युरोपस्तरीय एकल नृत्य प्रतियोगिता गरिसकेको इनासले यसपटक एकल गायनलाई पनि प्रतियोगिता रुपमा समेटेको छ।
नेपालमा यस्ता कार्यक्रमहरु हुँदै आएपनि युरोपको नेपाली सांगीतिक मञ्चमा भने, यसलाई नौलो प्रयोगको रुपमा हेरिएको छ । चौथो युरोपस्तरीय एकल नेपाली नृत्य तथा पहिलो गायन प्रतियोगिताले युरोपमा रहेका दोस्रो पुस्ताका नेपालीहरुको समेत ध्यान खिचेको छ ।
युरोपमा नेपाली डान्सिङ तथा सिङ्गिङ स्टारको खोजी
झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि नेपालका सबै लोक नृत्य तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच देखाउँदै युरोपका युवा कलाकारहरु नृत्य प्रतिस्पर्धाको मञ्चमा उत्रदै छन् । यसका अलवा नेपाली पप, जाज, ब्रेक र रिमिक्स जस्ता आधुनिक विधामा गरी प्रतियोगीहरुले दूई फरक शैलीका गीतहरुमा नृत्य प्रस्तुत गर्नेछन् ।
“इनास युरोप नेपाली डानसिङ्ग स्टार २०१६” को उपाधि बिजेताले ७ सय १ युरो नगद पुरस्कार पाउनेछ । त्यस्तै उपबिजेता र तेस्रो हुनेले क्रमसः ५ सय र ३ सय युरो पाउनेछन् ।
साथै गायन प्रतियोगिता “इनास युरोप नेपाली सिङ्गिङ स्टार २०१६” को पनि पनि बिजेता, उपबिजेता र तेस्रो हुनेले सोही अनुपातमा नगद पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १३ बर्षभन्दा माथि उमेर समूहकाले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिताको तयारी तीब्र
करिब १५ देशहरुबाट सहभागीहरु पुग्ने अपेक्षा गरिएको कार्यक्रमका लागि तयारी तीब्र बनाइएको छ । इनास युरोपका संयोजक अर्जुन काˆलेले प्रतिभावान कलाकारहरुको उच्च कदर हुने बिश्वास राखेका छन् । उनले भने, ‘नेपाल देखि सिधै आएका मात्र होईन, युरोपमा नै जन्मेर यतै हुर्केका प्रतिभावान नेपाली कलाकारहरुको लागि पनि कार्यक्रमले न्याय दिन सक्नेछ ।’
कार्यक्रम ब्यबस्थापन समितिका संयोजक धन सिंह ठकुरीले कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ठकुरीले कार्यक्रममा सहभागी बनेर कलाकारहरुलाई प्रोत्साहन दिन युरोपबासी नेपाली समुदायलाई अनुरोध समेत गरेका छन् ।
