बेरोजगारी नेपालको एक नम्बर समस्या : डा.भट्टराई

काठमाडौं, २० वैशाख ।

YuvaAnsan-Baishakh20_1-768x576

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या भएको बताएका छन् । रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानले खुल्ला मञ्चमा रोजगारीको सुनिश्चितताका लागि गरिरहेको सामूहिक आमरण अनसनप्रति ऐक्यवद्धता जनाउन पुगेका संयोजक डा. भट्टराईले भने – ‘बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या हो र यसको सकारात्मक समाधान गर्नु राज्यको पहिलो दायित्व हो । त्यसैले राज्यले तुरुन्त आमरण अनसनकारीहरुसँग सार्थक संवाद गरेर यसको समाधान गरोस् भन्ने आग्रह गर्दछु ।’

उनले अनसनकारीहरुको स्वास्थ्यमा प्रतिकूल समस्या आउनुअघि नै राज्यले सम्बोधन गर्नुपर्ने बताए । त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा संयोजक भट्टराईले लेखेका छन्– ‘युवाहरुलाई पूर्ण रोजगारीको सुनिश्चितताकालागि शुरु गरिएको आमरण अनसनप्रति नयाँ शक्ति नेपाल र मेरो तर्फबाट हार्दिक ऐक्यवद्धता प्रकट गर्दछु ।’ उनले अनसनकारीको मागप्रति राज्य गम्भीर हुनुपर्ने र आफूले पनि सरकारसँग यो विषयमा कुराकानी गर्ने पनि बताए ।

युवाहरु बेरोजगार भएको देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै डा. भट्टराईले सम्पूर्ण युवाहरु रोजगार भएमात्रै समृद्धिको ढोका खुल्ने बताए । युवाहरुलाई विदेश पठाएर त्यहाँबाट आएको रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने परिपाटीको अन्त्य गरेर देशभित्रै रोजगारी सिर्जना गरी स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्नेमा पनि संयोजक भट्टराईले जोड दिए ।

रोजगारीको सुनिश्चितताका लागि बैशाख १५ गतेदेखि रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानका संयोजक चन्द्रबहादुर थापाको नेतृत्वमा १२ जना युवाहरुले खुल्ला मञ्चमा अनसन सुरु गरेका हुन् । पूर्वसभासद् समेत रहेका थापाको नेतृत्वमा युवाहरुले सुरु गरेको आमरण अनसनको आज छैटौं दिन हो ।