जहाँ गयो त्यहीँ प्रगति
मारिस्सा मायर । एउटी यस्ती महिला, जो पुरुषले वर्चस्व कायम गरेको प्रविधिक्षेत्रको सर्वोच्च पदमा पुग्न सफल भएकी छन् । ३८ वर्षकी उनी ३० बिलीयन डलरको बहुराष्ट्रिय इण्टरनेट (वेब पोर्टल) कम्पनी याहूकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ३ सय मिलीयन डलरकी धनी मारिस्सा सान फ्रान्सिस्कोको भव्य घरमा बस्छिन् । मूल्यवान् पहिरन लगाउँछिन् । खैरो कपाल, नीला आँखा र भव्य ‘ग्ल्यामरस’ शैलीले उनलाई कुनै हलिउड नायिकाको जस्तै आकर्षक लुक्स दिएको छ ।
आफ्नो मेधावी क्षमताका कारण उनी लाखौँ महिलाको ‘रोल मोडल’ बनिसकेकी छन् । कुनै पनि कामप्रति समर्पित भएर लाग्ने उनको मेहनती स्वभावको परिणाम– उनी याहूको सीईओ भएर आएको एक वर्षमै कम्पनीको शेयर मूल्य शतप्रतिशतले वृद्धि भएको छ । धेरै इञ्जिनीयर याहूमा उनीसँग काम गर्न चाहन्छन् । सानो बेला लजालु स्वभावकी मायर अध्ययनसँगै आफूभित्रको प्राविधिक दक्षता निखार्नतिर लागिन् । सन् २०१२ मा याहू प्रवेश गर्नुअघि उनी गूगलमा काम गर्थिन् । गूगलको ‘होमपेज’ डिजाइनका साथै त्यसलाई थप आकर्षक बनाउन महत्त्वपूर्ण भूमिका खेलिन् ।
मार्गरेट मायर र माइकल मायर दम्पतीकी छोरीका रूपमा मारिस्साको जन्म सन् १९७५ मे ३० मा अमेरिकाको विस्कन्सिन राज्यमा भएको थियो । पिता माइकल वातावरण इञ्जिनीयर थिए भने आमा मार्गरेट आर्ट शिक्षिका । अन्तर्मुखी स्वभावकी मारिस्सा स्कुल जान थालेदेखि नै अभिभावकले उनलाई व्यक्तित्वविकासका विभिन्न गतिविधिमा सहभागी गराउन थालेका थिए । त्यही उमेरमा उनी पियानो सिक्थिन् । भलिबल खेल्थिन् । पौडी र स्की गर्थिन् । ब्यालेट कक्षा पनि छुटाउँदैनथिन् । विद्यालयमा पनि उनको थुप्रै समय पुस्तकालय वा ‘साइन्स ल्याब’ मा बित्थ्यो । स्कूलकी जेहेनदार विद्यार्थीमा गनिने उनी शिक्षकशिक्षिकाकी प्रिय शिष्या थिइन् । आफ्नो सफलतामा शिक्षकशिक्षिकाले दिएको ज्ञानको विशेष भूमिका रहेको उनी आज पनि बताउँछिन् ।
आमा मार्गरेट छोरीलाई अगाडि बढ्न मार्गदर्शन गराइरहन्थिन् । सधैँ आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका लिन हौस्याउँथिन् । वादविवाद प्रतियोगितामा भाग लिन लगाउँथिन् । मारिस्साले सानैदेखि गणित र विज्ञानलाई प्रमुख विषय बनाएकी थिइन् ।
विद्यालयशिक्षापछि उनले उच्च अध्ययनका लागि हावर्ड, यल, ड्युकलगायत १० विश्वविद्यालयमा आवेदन दिइन् । तर, ‘ब्रेन डक्टर’ बन्ने आफ्नो सपना पूरा गर्न अन्त्यमा स्टानफोर्ड रोजिन् । यो चिकित्साशास्त्रको उत्कृष्ट विश्वविद्यालय थियो । उनी दत्तचित्त भएर मेडिकल विज्ञानसम्बन्धी अध्ययनमा लागिन् । तर, पढ्दै जाँदा उनलाई यो विषयले तान्न सकेन । बरु मानिसले ‘कसरी विचार गर्छन्’, ‘कसरी तर्क गर्छन्’ जस्ता कुरामा रुचि बढ्दै गयो । त्यसपछि कम्प्युटर साइन्स पढ्न थालिन् । कम्प्युटर प्रोग्रामिङमा आउने समस्या र मस्तिष्कको उपयोगद्वारा तिनको समाधान गर्न सकिने सिर्जनशील पक्षले उनलाई लोभ्यायो । रुचि बढेपछि त्यही विषयमा भिज्दै गइन् ।
विद्यार्थीकालमै उनले बनाएको कम्प्युटरको ‘स्क्रीन सेभर’ प्रोग्राम उत्कृष्ट ठहरिएपछि उनी कम्प्युटरको ‘सिम्बोलिक सिष्टम’ तिर आकर्षित भइन् । यो स्टानफोर्डमा पढाइ हुने प्रमुख विषय भइसकेको थियो । आफ्नो विषयमा उनले यतिसम्म उत्कृष्टता हासिल गरेकी थिइन् कि स्नातक तह अध्ययन गरिरहँदा नै कलेजले उनलाई अण्डरग्य्राजुएटहरूलाई पढाउने जिम्मेवारी दिएको थियो । यसले उनको अध्यापनकलामा निखार ल्याइदियो । स्टानफोर्डबाटै उनले कम्प्युटर साइन्सअन्तर्गत सिम्बोलिक सिष्टमको ‘आर्टिफिसीयल इण्टेलिजेन्स’ मा स्नातकोत्तर गरिन् । अब उनका अघि दुई बाटा थिए– पूरै अध्यापनमै लाग्ने वा कम्प्युटर टेक्नोलोजीसम्बन्धी कम्पनीमा काम गर्ने ।
स्टानफोर्डमा अन्तिम वर्षको एक दिन उनी खाजा खाँदै इमेल चेक गर्दै थिइन् । इनबक्समा १२ वटा मेल यस्ता थिए, जसमा उनलाई विभिन्न कम्पनीबाट जागीर अफर गरिएको थियो । उनका लागि यो नौलो कुरा थिएन । ती मेल नखोली डिलिट गर्न थालिन् । अन्तिम मेल डिलिट गर्न खोज्दा उनको औँला झुक्किएर ‘स्पेस बार’ क्लिक हुन पुग्यो । मेल खुल्यो । लेखिएको थियो– ‘तपाईं गूगलमा काम गर्न आउनुहुन्छ ?’ यसपालि उनलाई लागेछ– एकपटक अन्तर्वार्ताचाहिँ ‘फेस’ गरिहेरौं न त । मेल रिप्लाई गरिन् । अन्तर्वार्तापछि उनैलाई जागीर अफर गरियो । उनी द्विविधामा परिन् ।
त्यस बेला गूगल अहिलेजस्तो उच्चस्तरमा थिएन । ‘गूगल’ नाम नै धेरैका लागि हाँसोको विषय बन्थ्यो । तर, उनले कम्पनी सफल नहुँदा पनि त्यसबाट धेरै काम सिक्न सकिने सम्भावना पहिल्याइन् । जागीर खाने सोच बनाइन् । सन् १९९९ बाट गूगलमा ‘प्रोग्रामर’ का रूपमा प्रवेश गरेकी मारिस्सा चाँडै नै एक्जुकेटिभ इञ्चार्ज हुँदै वरिष्ठ उपाध्यक्ष बनिन् । उनको प्रवेश गूगलका लागि शुभसङ्केत बन्यो । सफलताको गति पक्रियो । उनले गूगल सर्च र यसका प्रडक्टलाई लोकप्रिय बनाउनमा भूमिका खेलिन् । संसारभरका हजारौं कर्मचारीले प्रडक्ट प्रयोगको अवस्थाबारे उनलाई रिपोर्टिङ गर्थे । गूगल अन्य वेबसाइटभन्दा दु्रत गतिमा सूचना उपलब्ध गराउने इञ्जिनका रुपमा स्थापित भयो । बजार विस्तार हुँदै गयो । मारिस्सा शुरूका दुई वर्ष यति धेरै घोटिइन् कि प्रोग्रामरका रूपमा हप्तामा सय घण्टासम्म काम गरिन् । त्यति बेला उनी चार घण्टा मात्र निदाउँथिन् । आफूले असहज दिनचर्या अँगालेर गूगललाई सर्च इञ्जिनको दुनियाँमा सहज र आरामदायी बनाउनमा लागिपरिन् ।
सन् २००५ देखि मारिस्सा गूगलको व्यवस्थापन पक्ष सम्हाल्नतिर लागिन् । गूगलमा काम शुरू गरेको केही वर्षसम्म पनि उनले स्टानफोर्डमा पढाउने काम छोडेकी थिइनन् । ३ हजारजति सङ्ख्याका अण्डरग्य्राजुएट उत्पादन गरिसकेकी थिइन् । तर, पछि अध्यापनकार्य छाडिदिइन् र पूरै समय गूगलकै कनिष्ठ तथा नयाँ कर्मचारीलाई दक्ष बनाउनमै केन्द्रित भइन् । गूगलका ग्राहकलाई खुसी बनाउने उपाय पत्ता लगाउनमा घोत्लिइन् । गूगलको डिजाइनलाई प्रभावकारी बनाएर उनले आफ्नो मेहनत र क्षमताको पुष्टि पनि गरिन् । उनले गूगल सर्चलाई सुविधासम्पन्न बनाएकी मात्र होइनन्, जिमेल, गूगल म्याप र गूगल न्यूजलाई पनि नयाँ उचाइ दिलाइन् । गूगलको विश्वप्रसिद्धिसँगै मारिएको व्यावसायिक उचाइ पनि चुलिँदै गयो । उनी मिडियाको आँखामा पर्न थालिन् । सन् २००४ मा न्यूज विकले उनलाई भविष्यका १० उत्कृष्ट ‘टेक लिडर’ मा समावेश गर्यो ।
सन् २००४ मै गूगलले सार्वजनिक गरेको शेयर मूल्य अधिक वृद्धि भयो । यसै बेला उनले ५ मिलीयन अमेरिकी डलरमा सान फ्रान्सिस्कोमा घर किनिन् । सन् २००९ मा उनी बैङ्कर जाचरी बगसँग विवाहबन्धनमा बाँधिइन् । तर, सन् २०१० को अन्तिमतिर तीव्र गतिमा बढिरहेको उनको करियरमा नसोचेको धक्का लाग्यो । व्यवस्थापनले उनलाई गूगल सर्चबाट हटाएर गूगल म्याप हेर्ने जिम्मा दियो । बाहिरबाट हेर्दा स्थानान्तरण गरिएजस्तो देखिए पनि यथार्थमा उनलाई सबभन्दा बढी आर्थिक आम्दानी हुने जिम्मेवारीबाट घटुवा गरिएको थियो । गूगलका तत्कालीन सीईओ ल्यारी पेजले उनलाई अपरेटिङ कमिटीमा पनि राखेनन् । हुँदाहुँदा उनलाई उनीभन्दा ४ वर्षपछि कम्पनीमा आएका जेफ हुबरको मुनि बसेर काम गर्नुपर्ने बाध्यतामा पारियो । व्यवस्थापनको यो शैलीले उनमा असन्तुष्टि बढाउन थाल्यो । सन् २००५ देखि गूगलको व्यवस्थापन पेजमा राखिएको उनको व्यक्तिगत विवरण पनि सन् २०११ को मे महीनामा हटाइयो । उनी गूगलको आर्थिक पक्षभन्दा उत्पादन र ग्राहकको प्रतिक्रिया बुझ्नतिरै बढी अल्झिएकाले व्यवस्थापन उनीप्रति असन्तुष्ट रहेको आँकलन गूगलका कर्मचारीले गरे पनि वास्तविक कारण भने न मारिस्साले खोलिन् न त गूगलले नै सार्वजनिक गर्यो । जे होस्, व्यवस्थापनको यही वक्रदृष्टिका कारण सन् २०११ सम्म आइपुग्दा उनको व्यक्तिगत प्रगति ठप्पै हुन पुग्यो । तर, यो नै मारिस्साको कर्मको अन्त्य थिएन । बरु, अर्को महत्त्वपूर्ण अवसर उनलाई पर्खिरहेको रहेछ ।
सन् २०११ देखि याहू व्यवस्थापन नयाँ नेतृत्वको खोजीमा थियो । असफल नेतृत्वका कारण याहूले पछिल्लो एक दशकदेखि सोचेजस्तो प्रगति गर्न नसकेको निष्कर्ष कम्पनी बोर्डले निकालेको थियो । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पदका लागि एप्पलका इड्डी क्यू, गूगलकै निकेश अरोरा र ‘वेब टिभीसाइट हुलु’ का जासन किलर पनि प्रतिस्पर्धामा थिए । तर, बोर्डले आखिरमा मारिस्सालाई छनोट गर्यो । १३ वर्षसम्म काम गरेको गूगल छाडेर सन् २०११ मे १६ बाट उनी याहूमा प्रवेश गरिन् ।
करियरको यो नयाँ बाटो पनि सजिलो भने थिएन । किनकि पछिल्ला वर्ष याहूका ‘भिजिटर’ घट्दै थिए । याहूको मोबाइल ‘एप्स’ मा मानिसको चासो निकै कम थियो । दक्ष इञ्जिनीयर र कर्मचारी सबै फेसबुक र गूगलजस्ता कम्पनीतर्फ आकर्षित हुँदै त्यतैतिर हिँडिसकेका थिए । मारिस्साले याहू प्रवेश गरेपछि त्यो अभाव पूर्ति गरिदिइन् । अनलाइन भिजिटरहरूबीच ‘याहू संस्कार’ विकास गरिन् । याहूमा आबद्ध हुँदा मारिस्सा सात महिनाकी गर्भवती रहेकाले उनले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नेमा अनेक आशङ्का उब्जिएका थिए । तर, सुत्केरी हुँदासमेत जम्मा दुई हप्ताको छुट्टी लिएर कामलाई नै निरन्तरता दिइरहिन् । याहू आएपछिको पहिलो र महत्त्ववपूर्ण कामका रूपमा उनले आफ्नो आगमनमा असन्तुष्ट हुनेहरूलाई भेटिन् । आफ्ना योजनामा उनीहरूलाई सहमत र एकताबद्ध बनाउँदै अघि बढिन् । आफ्नो उद्देश्य स्पष्ट पारिन् । परिणामतः केही हप्तामै कर्मचारीको उत्पादकत्व दशककै सबैभन्दा बढी देखियो ।
अहिले मारिस्सा याहूमा दोस्रो वर्षमा काम गरिरहेकी छिन् । उमेरले ४० वर्ष छुन खोज्दै छ । याहूमा सीईओका रूपमा हजारौँ मानिसलाई ‘टेक्नोलोजी प्रडक्ट’ को प्रयोगप्रति आकर्षित गराउन भूमिका खेलिरहेकी छन् । उनको यो प्रयासले कम्पनीलाई चामत्कारिक उचाइ दिलाएको छ । उनको आगमनपछि याहूको ‘मेल ट्राफिक’ १ सय २० प्रतिशतले बढ्यो । त्यस्तै, ‘याहू वेदर’ मा १ सय ५० र ‘याहू न्यूज’ मा ५५ प्रतिशतको वृद्धिदर छ । २०१३ को अगष्टसम्ममा याहू अमेरिकामा सबैभन्दा लोकप्रिय साइट बन्न सफल भएको छ । मारिस्साको कुशल नेतृत्वले नै यो सम्भव बनाइदिएको चर्चा प्रविधिक्षेत्रमा हुन थालेको छ । अनि, उनी आफूचाहिँ जे छोयो त्यही सुन बनाउने कुनै तिलस्मी कथाकी चमत्कारी नायिकाजस्ती बन्न पुगेकी छन् ।
जीवन बस्नेत (एजेन्सीको सहयोगमा) ,आर्थिक अभियानबाट