एमाओवादी स्थाई समिति बैठक जारी,माओवादी पार्टीबीचको एकता बैठकको मुख्य एजेण्डा
काठमाडौं, १७ वैशाख ।
एकिकृत नेकपा माओवादीको स्थायी समितिको बैठक लाजिम्पाटमा जारी छ । बिहिवारदेखि शुरु भएको बैठक आज पनि बसीरहेको एमाओवादीले जनाएको छ । माओवादी पार्टीहरु बीचको एकताको बिषय नै स्थायी समिति बैठकको मुख्य एजेण्डा रहेको एमाओवादीको भनाई छ ।
पार्टी एकताका लागी मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी र मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता हुने चर्चा चलेपनि यसले मुर्तरुप लिन सकिरहेको छैन । एमाओवादीको बैठकमा यहि बिषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ ।
बैठकमा सरकारको कामको समिक्षा सहित एमाओवादीको भागमा परेका मन्त्रालयलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा पनि छलफल भईरहेको छ । जनतालाई सहयोग पुग्ने खालका योजनाहरु आगामी बजेटमा कसरी समाबेश गर्ने भन्ने बिषय पनि बैठकको एजेण्डा रहेको एमाओवादीले जनाएको छ ।