नेपाली कला विष्वमा चिनिदै
काठमाडौं , १५ वैशाख । ताइवानको राजधानी ताइपेईमा अवस्थित वल्र्ड ट्रेड सेन्टरको हल थ्रिमा पाँच दिनसम्म चलेको अन्तर्राष्ट्रिय कला मेलामा नेपाली युवा कलाकार उमेश साहका कलाकृति पनि छनौटमा परेका छन ।
विश्वभरिका ४०५८ कलाकृतिबाट छनौटमा परी ७३ देशका १०९ कलाकृति छानिएको र प्रदर्शनीमा राखिएको साहले बताए । सो मेला सकिएपछि सहभागी कलाकारलाई ‘इन्टनेशनल आर्टिष्ट ग्राण्ड प्राईज’ दिइने र त्यसका लागि साहका २ वटा कलाकृति छानिएको समेत उनले जनाए ।
एक कलाकारका बढीमा दुईवटा कलाकृति छानिएको र त्यसमा नेपालबाट साहका दुईवटा कलाकृति छनौटमा परेको साहले बताए । ब्रम्हापुरी –६, सर्लाहीमा ४० वर्ष अघि जन्मिएका साहले काठमाडौं विश्वविद्यालयबाट कलामा स्नातक र इन्दिरा कला संगीत विश्वविद्यालय छत्तिसगढबाट स्नातकोत्तर गरेका छन् । दर्जनौपटक देश विदेशमा सामूहिक कला प्रदर्शनीमा सहभागी भएका छन् । चारपटकसम्म एकल कला प्रदर्शनी गरिसकेका साहको गत वर्ष पुल्चोकस्थित पार्क ग्यालरीमा एकल कला प्रदर्शनी समेत भएको थियो ।