हुम्लामा सिजनल फ्लुका कारण १४ जनाको मृत्यु
काठमाडौं,१३ वैशाख ।
हुम्लामा एक सातादेखि फैलिएको सिजनल फ्लुका कारण १४ जनाको ज्यान गएको छ । जिल्लाको राया र स्याँडा गाविसमा सिजनल फ्लुका कारणले १४ जनाको ज्यान गएको हो ।
गत सातादेखि फैलिएको रोगका कारण स्याँडा गाबिस वडा नं. ४ लामती बुढा, वडा नं. ६ भद्विर बुढा, वडा नं. ५ ढोली बुढा र वडा नं. ४ का धनराज बुढाको मृत्यु भएको स्याँडाका स्थानीय छक्क बुढाले बताए । ‘मृत्यु हुनेमा १९ बर्षदेखि ७२ वर्षसम्मका छन्,’ उनले भने ।
राया गाबिसमा ७ मा जनाको ज्यान गएको छ । गतहप्तादेखि बिरामी हुने मृत्यु हुने गरेको रायाका स्थानीय वासिन्दा बलविर रावलले बताए । रावलका अनुसार एक सातामै अचानक फैलिएको सिजनल फ्लुले राया गाबिस वडा नं. ६ का सिरे रावल र उनकी श्रीमती लाटी रावलको मृत्यु भएको छ । श्रीमती लाटीको वैशाख ८ गते मृत्यु भएको थियो भने सिरेको वैशाख १२ गते मृत्यु भएको हो ।
शुरुमा नाक र कान बुझिने, ज्वरो आउने र बिस्तारै खान मन नलाग्ने उक्त रोगको लक्षण भएको स्थानीय बताउँछन् । राया गाबिस–८ का ५७ वर्षका जस रावल र उनकी ५२ वार्षिय श्रीमती चिनकली रावलको समेत मृत्यु भएको छ । ज्यान जानेमा राया– की ३५ वर्षिया विष्णु रावल,७ की ७५ वर्षकी रिउली रावल, २ का ७७ वर्षिय सर्वजित रावलको मृत्यु भएको रायाका पूर्व गाविस अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले राया ५ र स्याँडामा ४ गरी ९ जनाको मात्रै ज्यान गएको जानकारी पाएको बताए ।