पर्यटकको चहलपहल बढ्दै मुस्ताङमा

मुस्ताङ,१२ वैशाख ।

paryatanगत वर्ष आजैका दिन गएको विनाशकारी भूकम्पले चौपट भएको यहाँको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कंदैछ।
भूकम्पको त्रास अहिले पनि पूर्णरुपमा नहटे पनि पर्यटकको चहलपहल बढ्दै गएपछि सिथिल बनेको पर्यटन क्षेत्र जुर्मुराउन थालेको छ। भूकम्प जानुअघि उत्साहजनक रहेको पर्यटन क्षेत्र त्यसपछि तीन महिना सुनसान बनेको थियो। भूकम्पकै कारण सन् २०१४ को तुलनामा पर्यटकको सङ्ख्या ४३ प्रतिशतले घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
भूकम्पपछि वैशाखदेखि साउनसम्ममा पर्यटकको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको छ । पर्यटकको सङ्ख्यामा कमी आएपछि यहाँको पर्यटन उद्योग सङ्कटमा परेको जोमसोमका व्यवसायी सुकेन्द्र थकाली बताउँछन्। “भदौपछि आन्तरिक पर्यटक नआएको भए जिल्लाका धेरै होटल तथा पसल बन्द हुने अवस्थामा पुगिसकेका थिए,” उनले भने। होटल व्यवसायी विस्तारै लयमा फर्कंदै गरेको उनको भनाई छ।
जिल्लामा साना–ठूला गरी १५० होटल सञ्चालनमा छन्।
पर्यटलाई लक्षित गरी सञ्चालन गरिएका व्यवसाय धराशायी बनेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन्। “अन्नपूर्ण क्षेत्रलाई भूकम्पले खासै प्रभाव पारेको थिएन तर समयमै उक्त खबर अन्तर्राष्ट्रियस्तरमा जान सकेन,” उनले भने।
एक्यापका अनुसार, भूकम्पका कारण सन् २०१४ को तुलनामा २०१५ मा ५० हजार पर्यटक घटेका छन् भने अर्बौं रुपैयाँ गुमेको छ । एक्याप जोमसोमका प्रमुख निरु थापाले पछिल्लो मौसममा भूकम्पको पीडा बिर्साउने गरी पर्यटकको चहलपहल बढेको बताइन्। “विस्तारै पहिलाकै अवस्थामा पुग्दैछौँ,” उनले भनिन्। रासस