बारपाक पुगेर भूकम्पस्मृति उद्यानको शिलान्यास गरिन् राष्ट्रपति भण्डारीले
काठमाण्डौ,१२ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख १२ को ‘गोरखा भूकम्प’ को केन्द्रविन्दु बारपाक पुगेर भूकम्पस्मृति उद्यानको आज शिलान्यास गरेकी छन्।
उनले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गरिन् ।
बारपाक वडा नं ४ र ५ को केही भाग समेटेर भूकम्पस्मृति उद्यान निर्माण गर्न लागिएको छ । यसअघि जिविसले बोटबिरुवा हुर्काएर उद्यान बनाएका ठाउँमा मृतकको सम्झना गर्दै भूकम्पस्मृति स्मृति बनाउने तयारी गरिएको हो ।
यस्तै राष्ट्रपति भण्डारीले बारपाक- ४ का गोपाल विकको घरको शिलान्यास गर्दै गोरखा पुनःनिर्माणको शुभारम्भ पनि गरेकी छन् ।
विकको घर शिलान्यास गरेपछि राष्ट्रपति भण्डारीले अनुदान पाउने लाभग्राहीको नामावली (सूची) सार्वजानिक गरिन् । उनी बारपाक– ४ स्थित हिमालय उमाविको प्राङ्गणमा आयोजित कार्यक्रममा पनि सहभागी भइन् । राष्ट्रपति भण्डारी ४५ मिनेट बारपाक गाउँ बसेर लाप्राक लागेकी छन् ।
उनले लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएन) ले बनाउन लागेको एकिकृत बस्ती विकास कार्यक्रमको सम्झौता गर्नेछिन् ।