प्रचण्डले भने – जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा मेरो

दाङ्ग, ११ बैसाख /
tharu_3rd-convention-dang-1-Mediumएकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने घोषणा गरेका छन्

क्रान्तिकारी पत्रकार संघ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने बताए ।

सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुग्याउनुपर्ने भन्दै उनले सत्यनिरुपण र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरुको कुनै आपत्ति नरहने बताए । ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग हामी माओवादीलाई चाहिएको थियो । हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’उनले भने, ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्द्वकालीन घटनाको विरुद्धमा उजुरी दिन आग्रह गर्दछु ।’

प्रचण्डले वर्तमान सरकारमा कांग्रेस र मधेसी मोर्चालाई सहभागी बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राखे । सरकार परिवर्तन गर्ने भन्दा पनि यही सरकारमा सबैलाई सहभागी गराउने कार्यमा आफु लागि रहेको उनले बताए । रासस