संघिय गठबन्धनलाई कुटनितिज्ञको प्रश्न ,आन्दोलन मात्रै कि निकाशका लागी वार्ता गर्ने ?
काठमाडौं, ९ बैशाख ।
६ महिने तराई मधेशमा आन्दोलन गरेर थाकेको तर आफ्ना माग पुरा नभएपछि फेरी नयाँ आन्दोलनको धम्कि दिरहेको संघिय गठबन्धनलाई कुटनितिज्ञहरुले उल्टै प्रश्न गरेका छन् । उनीहरुले मुलुकमा निकासका लागी वार्ता गर्ने कि अझै आन्दोलन गर्ने भनेर प्रश्न गरेका हुन् । नयाँ संविधानप्रति असहमति राख्दै भावी आन्दोलनको तयारीमा रहेको संघीय गठबन्धनले आज नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रमुख र अधिकारीहरुसँग आन्दोलनबारे छलफल गरेको थियो ।
सोही छलफलमा सहभागी कुटनितिज्ञहरुले गठबन्धनका नेताहरुलाई आन्दोलनले समस्या समाधान नहुने प्रतिक्रिया दिदै वार्तामा बस्ने कि नबस्ने भन्ने बिषयमा चासो व्यक्त गरेका थिए ।
राजधानीको होटल र्याडिसनमामा भएको छलफलमा गठबन्धनका नेताहरुले आफूहरुले गर्न लागेको भावी आन्दोलनको रुपरेखा बारे कुटनितिज्ञलाई जानकारी गराएका थिए ।तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार बैठकमा आफूले विगतको आन्दोलन, भावी आन्दोलनको स्वरुप, मुलुकको पछिल्लो परिस्थिति र सरकारको हेपाहा प्रबृत्तिको विषयमा विदेशी कुटनीतिज्ञहरुलाई व्रिफिङ गरेको जानकारी दिए ।उनका अनुसार डेढ दर्जन जति कुटनीतिक नियोगका अधिकारीहरु छलफलमा सहभागि थिए ।
जनजाति अगुवा डा ओम गुरुङले आफूले भावी आन्दोलनको कार्यक्रम, सरकारको विभेदकारी नीति, संविधानमा रहेको विभेदको विषयमा जानकारी दिएको बताए ।
सो क्रममा कुटनीतिक नियोगका अधिकारीहरुले आन्दोलनको स्वरुप, आन्दोलनको योजना र रणनीतिको विषयमा चासो राखेका थिए ।
उनका अनुसार उनीहरुले बार्ताको विषयमा संघीय गठबन्धनको धारणाबारे चासो राख्दै आन्दोलनमात्रै कि निकासको लागि बार्ता पनि गर्नु हुन्छ भन्ने विषयमा प्रश्न गरेका थिए । सो क्रममा विदेशी कुटनीतिज्ञहरुले गठबन्धनको अवधारणको विषयमा भने कुनै पनि प्रतिक्रिया नदिएको बताईएको छ ।