पोखरामा झडप

उज्यालोले वैशाख ९ गतेदेखि पोखराबाट देशका विभिन्न भागमा बस सञ्चालन गर्ने भन्दै पोखरा ल्याएका दुई बसलाई पृथ्वीका ब्यक्तिहरुले तोडफोड गर्न खोज्दा दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो । झडपमा उज्यालोका नविन लामा र विष्णु नेपाली घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

त्यस्तै पृथ्वीका श्यामलाल श्रेष्ठ, रुद्र बहादुर थापा मगर, प्रकाश सिग्देल, पशुपति पौडेल र झलक कुँवर घाइते भएका छन् । उज्यालोका घाइतेहरुको चरक हस्पिटल र पृथ्वीका घाइतेको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ । उज्यालोको जिरो किलोमिटरमा रहेको कार्यालयमा पृथ्वी राजर्माग बस सञ्चालक समितिसँग आवद्ध ब्यवसायीले ढुङ्गा हानेपछि झडपको भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपमा ढुङ्गा प्रहार गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । नयाँ समितिले पुराना व्यवसायीले बस तोडफोड गर्न आएकाले झडप भएको आरोप लगाएको छ भने पृथ्बी राजमार्ग बस सञ्चालक समितिले नयाँ समितिका मानिसले पहिले ढुङ्गा प्रहार गरी घाइते बनाएको जनाएको छ ।

केहि समयअघि स्थानीय रुटमा चल्नेगरि बिन्ध्यावासिनी समितिको बस भित्रिदाँ भएको विवाद बल्लतल्ल समाधान भएको केहि समयपछि पुनः अर्को नयाँ समितिको नाममा विवाद भएको हो ।

नयाँ समितिका रुपमा पोखरा भित्रिएको उज्यालो यातायातको पोखराबाट काठमाडाै, बिराटनगर, सुनौली, धनगढी, काकरभिट्टा, नेपालगञ्ज, धरान र मुस्ताङ रुटमा चल्ने गरी तत्काल १२ वटा सुविधायुक्त बस तयारी अबस्थामा रहेका समितिका सचिव केवलराम राईले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमा ५४ वटा बस छन् ।

पूर्वको झापालाई केन्द्र बनाएर सञ्चालन गरिएको यातायात समिति अन्तर्गतका बस मोरङ, इलाम, पाँचथर, फिदिम, ताप्लेजुङ, धनगढी र काडमाडौंका रुटमा सञ्चालन भैरहेको छ । वैशाख ९ गतेदेखि पोखरा काकडभिट्टा रुटमा बस सञ्चालन सुरु गर्नेगरी पोखरामा शाखा कार्यालय विस्तार गरिएको पोखरा स्थित शाखाका अध्यक्ष नल बहादुर गुरुङले जानकारी दिनुभयो । नयाँ समितिले प्रचलित भाडादरमा पाँच प्रतिशत छुट दिने जनाएको छ ।

नयाँ समितिले यातायात व्यवसायीको बिचमा आपसी विवाद र झडप हुनेगरी कुनैपनि कार्य नगर्ने र नयाँ समितिको कारण पुरानो समितिका मजदुर विस्थापित हुनपरे त्यसको जिम्मेवारी आफूहरुले लिने प्रतिबद्धता जनाएको छ ।

यस समितिले फेवाताल संरक्षणको लागि प्रति टिकट एक रुपैयाँ पोखरा उपमहानगरपालिकालाई उपलब्ध गराउने समेत जनाएको छ । काकरभिट्टादेखि पोखरा हुँदै बाग्लुङसम्म रुट अनुमति पाएपनि गाडी सञ्चालन गर्न नपाएको राईले गुनासो गर्नुभयो । समितिको मे १ ख २०९८ र मे १ ख २०९९ नम्बरको दुई वटा बसले गएको फागुन ३० गते रुट अनुमति पाएको थियो । तर जिल्ला प्रशासन कार्यालय कास्कीमा गत फागुन ६ गते बसेको सर्वदलीय बैठकले तत्काल नयाँ गाडी सञ्चालन नगर्ने निर्णय गरेपछि परेको रिटमा सर्वोच्चले चैत्र २३ गते बैठकको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।