स्पेनिस लिग फुटबल -बार्सीलोनाले फेरी हार्यो,उपाधि होड रोमाञ्चक बन्दै

1

काठमाडौं, ६ वैशाख ।

स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोना फेरि पराजित भएको छ ।

गएराति भएको खेलमा भ्यालेन्सियासँग २–१ ले पराजित हुँदै बार्सिलोनाले अंक तालिकामा महत्वपुर्ण अग्रता गुमाएको हो ।

आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाका ईभाँ राकिटीचले आत्माघाती गोल गरेपछि भ्यालेन्सियाले सुरुवाती अग्रता लियो । ४५ औं मिनेटमा सान्टी मिनाले एक गोल थप्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा बार्सिलोनाका लियोनल मेस्सीले एक गोल गरेपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् । बार्सिलोनाको यो ला लिगामा लगातार तेस्रो हार हो । लिगका पछिल्ला तीन खेलमा भ्यालेन्सिया, रियाल सोसीडाड र रियाल मड्रिडसँग हारेको बार्सिलोना त्यसअघिको खेलमा भियारीयालसँग २÷२ गोलको बराबरीमा रोकिएको थियो ।

सन् २००३ यता बार्सिलोनाले लिगमा लगातार तीन खेल हारेको यो पहिलो पटक हो । यही बिचमा बार्सीलोना युएफा च्याम्पियन्स लिग फुटबलमा पनि आफ्नै देशको एथ्लेटिको मड्रिडसँग पराजित हुँदै बाहिरिइसकेको छ ।

गएरातीको हारसँगै बार्सिलोनाले स्पेसिन ला लिगाको अंक तालिकामा महत्वपुर्ण अग्रता गुमाएको छ । ३३ खेलबाट बार्सीलोनाको ७६ अंक छ भने समान ७६ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

बार्सिलोना र एथ्लेटिकोभन्दा १ अंक तल रहेको रियाल मड्रिड ७५ अंकको साथ तेस्रो स्थानमा छ । जारी सिजनको लिगमा ५ खेल मात्रै बाँकी रहँदा ला लिगाको त्रिपक्षीय उपाधि होड रोचक बन्दै गएको छ ।