काठमाडौं, ५ वैशाख ।
महिलाबाट बढी काम लिन बालविवाहमा जोड ,‘अहिले होस् या पछि ल्याउनैपर्ने भएपछि किन कुर्ने ?’
जुम्ला / डिल्लीचौरु ६ तिर्खु गाउँकी हरिमाया बोहरा १२ वर्षमै दुलही बनिन् । १४ वर्षकी छँदा सुत्केरी भइन् । अहिले ३८ वर्षकी उनका नाती तीन वर्षका भएका छन् ।
तिर्खु गाउँका करिब ८० प्रतिशत परिवारमा यस्ता धेरै उदाहरण छन् । करिब २ सय ९० घरधुरी रहेको उक्त गाउँमा बालविवाहले जरो नै गाडेको छ ।
३८ वर्षीय जाली बोहराको पनि १२ वर्षकै बिहे भयो । दुई छोरा र दुई छोरीको समेत विवाह भएको छ । पहिलो सन्तान जन्माउँदाको पीडा अझै भुल्न सकेकी छैनन् । ‘गाउँमा सानैमा बिहे गर्ने चलन छ । मेरो पनि त्यस्तै भयो,’ उनले भनिन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।