आजदेखि भर्ना अभियान सुरु
सरकारले आजदेखि भर्ना अभियान सुरु गरेको छ । । ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएरआजदेखि भर्ना अभियान सञ्चालन भएको हो । विद्यालय बाहिर रहेका साढे ५ लाख बालबालिका विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गर्न लागिएको हो । शिक्षा विभागका अनुसार आधारभूत तह (कक्षा १–८) सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन् ।
५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार विद्यार्थीहरू विद्यालय तहमा अध्ययनरत छन् । शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले विद्यालय बाहिर हुने बालवालीकालाई विद्यालयमा ल्याउन हरसम्भव प्रयास गर्ने जानकारी दिए । विभागले ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर भर्ना अभियान सुरु गर्ने योजना बनाएको उनले जानकारी दिए । भर्ना अभियानअन्तर्गत वैशाख १४ सम्म बाहिर रहेका विद्यार्थी कक्षामा ल्याउने, उनीहरूलाई टिकाइराख्ने र सिकाइ उपलब्धिमा सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको शिक्षा विभागले जनाएको छ । वैशाख दोस्रो सातादेखि अन्तिमसम्म घरदैलो कार्यक्रम गरिने छ ।