पूर्वराष्ट्रपति रामबरणको अभिव्यक्तिप्रति बाबुरामद्धारा कडा बिरोध
पुर्व राष्ट्रपति डा. रामवरण यादवले पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लगाएको संविधानसभा भंगको आरोपलार्इ नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले खण्डन गरेका छन् ।
बाबुराम भट्टराईले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर भनेका छन्– ‘एक सार्वजनिक कार्यक्रममा पूर्व राष्ट्रपति श्री रामवरण यादवले “बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भंग गरिदिए” भनी भन्नुभएको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’
आइतबार पूर्वसेनापति छत्रमानसिंह गुरुङको पुस्तक ‘जनताको छोरो’को विमोचन गर्दै यादवले ‘बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भंग गरिदिए’ भनेर अभिव्यक्ति दिएका थिए ।
‘सर्वप्रथम राज्यको जिम्मेवार र संवेदनशील निकायमा रहेका वा रहिसकेका व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिंदा पालना गर्नुपर्ने निश्चित मापदण्ड वा आचारसंहितावारे ध्यानदिनु उपयुक्त होला।’ बाबुरामले उक्त आरोपको खण्डन गर्दै भनेका छन्, ‘दोस्रो र सबभन्दा महत्वपूर्ण कुरा, संविधानसभा विघटन गर्ने कुनै प्रावधान नै अन्तरिम संविधानमा नभएकाले प्रमको हैसियतले मैले त्यस्तो असंवैधानिक कुरा गर्ने प्रश्नै उठ्दैन ।’
उनले अगाडि लेखेका छन्,-‘बरू मैले २०६९ जेठ ९ गते मन्त्रिपरिषद् वैठकबाट संविधानसभाको कार्यकाल ३ महिना थप्ने प्रस्ताव संसमा दर्ता गराउँदा त्यसविरूद्ध जेठ ११ गते अन्तरिम आदेश दिंदै सर्वोच्च अदालतले संसको कार्यकाल २०६९ जेठ१५ गतेसम्म सीमित गरिदिएको हो ।’
भट्टराईले सर्वोच्चको फैसलाबमोजिम संविधानसभा भंग भएको स्पष्टीकरण दिदै फेसबुकमा लेखेका छन्, ‘त्यही आदेश बमोजिम जेठ १५ गते मध्यरातमा संसको स्वतस् अवसान भएको हो। मैले त संवैधानिक संकट आउन नदिन र लोकतन्त्रलाई जीवित राख्न संसको अर्को निर्वाचनको विधिवत घोषणा मात्र गरोको हुँ ।’
उनले यस्ता ऐतिहासिक तथ्यप्रति सबैको ध्यान पुग्नुपर्नेमा समेत जोड दिएका छन् ।