शुशीला कार्की पहिलो महिला प्रधानन्यायाधिश बन्ने पक्का

काठमाडौं, २९ चैत ।

sushila karkiसंवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरे सँगै शुशीला कार्की पहिलो महिला प्रधानन्याधिश बन्ने पक्का भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटार आइतबार साँझ बसेको परिषदको बैठकले सर्वोच्चकी वरिष्ठतम न्यायाधीश कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

कार्की मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुने छिन् । परिषदको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सोमबार प्रधानन्यायाधीशमा कार्कीको नाममा सुनुवाइ गर्न संसद सचिवालयलाई पत्र पठाई आग्रह गर्नेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपति विद्या भण्डारीले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।  प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ६५ वर्ष पूरा भई सोमबारदेखि अनिवार्य अवकास पाउँदैछन् । संसदीय सुनुवाइ नभएसम्म कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछिन् ।

कार्की १३ महिना प्रधानन्यायाधीश हुनेछिन् । कार्कीले ६५ वर्षे उमेर हद पूरा गरी २०७४ जेठ २५ मा अवकास पाउने छिन् ।

विराटनगर– शंकरपुरमा  २००९ साल जेठ २५ गते   जन्मेकी कार्की  कांग्रेसका पुराना नेता दुर्गा सुवेदीकी पत्नी हुन् । कार्कीले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट बीए, हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र त्रिभूवन विश्वविद्यालयबाट बीएल गरेकी छिन । २०३५ साल चैत १६ गते वकिल भएर कानुनी क्षेत्रमा प्रवेश गरेकी कार्कीले २०४३–४६ सम्म महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन समेत गरेकी छिन ।

निस्कलंक छवि निर्माण गरेकी कार्कीले २०४५–४७ सम्म कोशी अञ्चल बारको अध्यक्ष तथा २०५९–६१ सम्म विराटनगर बारको अध्यक्ष भइन् । २०६१ सालमा वरिष्ठ अधिवक्ता भएकी कार्की २०६५ माघ ७ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भएकी थिइन् । कार्की ०६७ मंसिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी थिइन् ।