
अब संगठनमा क्रान्ति –प्रचण्ड
काठमाडौं, २३ चैत ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्ग संघर्षको उतार चढावसँगै संघर्षका रुपहरु हेरफेर हुँदै जाने बताएका छन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाद्वारा आयोजित केन्द्रीय स्कूल तथा कार्यशाला कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘नयाँ जनवादी क्रान्ति नयाँ जनवादी क्रान्तिको रुपमा सम्पन्न हुन सकेन, भिन्न ढंगले पूँजीवादी जनवादी क्रान्ति आधारभूत रुपमा पुरा भएको छ, यो सर्वहारावर्गको नेतृत्व माओवादी कम्युनिष्ट पार्टीको सचेत पहलमा पुरा भएको हो ।’
क्रान्तिमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले कस्तो भूमिका निभाउँछ भन्नेमा क्रान्तिको स्वरुप र भविश्य निर्धारण हुने उनको भनाई थियो । उनले जनयुद्धमा नयाँ संस्कार र संस्कृतिको विकास गर्ने क्रम सुरु भएको तर शान्ति प्रक्रियामा आई सकेपछि फेरि हिजोका सामन्ती प्रवृतिहरुले उठाएको बताए । अहिले पार्टी निर्णयको कार्यान्वयन भईरहेको उल्लेख गर्दै पूर्ण समानता र पूर्ण मुक्ति समाजवादमा मात्र प्राप्त हुने उनको भनाई थियो ।
एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा क्रान्तिको अन्ध नक्कल गर्ने खराब रोगका रुपमा देखा परेको उल्लेख गर्दै भने, ‘यसले ठूल्ठूला क्रान्ति पनि प्रतिक्रान्तिमा परिणत भएको छ, यसको मूल कारण माक्र्सवादलाई धर्मशास्त्रको रुपमा लिने प्रवृति हो, माक्र्सवाद एक गतिशिल विज्ञान हो । हामीले जनयुद्धको रणनीति, कार्यनीतिको विकाससँगै यहाँसम्म आउँदा निकै नयाँ ढंगले विकास गरेका छौं, हाम्रो बुझाईमा गतिशिलता छ ।’
‘राजनीति र विचारमा क्रान्ति गर्दै आएका छौं, अब हामी संगठनमा क्रान्ति गर्ने छौं ।’ अध्यक्ष प्रचण्डले उत्पीडित जनताको हकअधिकार संविधानमा संस्थागत गर्ने काम एमाओवादी कै नेतृत्वमा भएको पनि बताए । ‘त्यसैले हामी माथि विभिन्न कोणबाट लाग्ने गरेको आरोपहरु सैद्धान्तिक र व्यवहारिक दुबै दृष्टिले गलत सावित भएका छन्’उनले भने , ‘इतिहास निकै निर्मम हुन्छ, भए गरेका कामहरुको समिक्षा एवम् मुल्याङ्कन इतिहासले निर्मम ढंगले गर्दछ ।’
देशमा आइपरेका समस्या र चुनौतिलाई राष्ट्रिय एकता कायम गरेरै सामना गर्दै आइरहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।
