कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं,  २३ चैत ।

download (3)

नेपाली कांग्रेस  संसदीय दलको नेताका लागि सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

सिंहदरबारस्थित दलको कार्यालय  देउवा र पौडेलले दलको नेताका लागि  उम्मेदवारी दर्ता गरेका हुन्। देउवाले बिहान ११ बजेर १० मिनेटमा र पौडेलले ११ बजेर १७ मिनेटमा मनोनयन दर्ता गराएका हुन्। देउवाको प्रस्तावकमा सांसद फरमुल्लाह मन्सुर छन् भने समर्थकमा सांसद पद्यनारायाण चौधरी  छन्। पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह र  समर्थकमा महामन्त्री शशांक कोइराला छन्।
देउवाले मनोनयन दर्ता गराउने बेलामा उनी निकटका नेताहरु विमलेन्द्र निधि, अर्जुन नरसिंह केसी, पूर्णबहादुर खड्का लगायतका धेरै नेताहरु संसदीय दलको कार्यालय पुगेका थिए।उम्मेद्वारी दर्ता गर्दै सभापति देउवाले संविधानको कार्यान्वयन र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेद्वारी दिएको बताए।

निर्वाचन समितिले दलको नेताको मनोनयन दर्ताका लागि विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ। निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्तापछि दिउँसो साढे १२ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ भने दिउँसो १ बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोधको समय छुट्याइएको छ।

यस्तै दिउँसो साढे १ बजे दोस्रो पटक उम्मेदवारको नामावली प्रकाशन गरिने छ। दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिको कार्यतालिका छ।

दलको नेताको निर्वाचन बुधवार ११ बजेदेखि २ बजेसम्म हुने कार्यक्रम रहेको छ ।