वल्र्डकप टी २० क्रिकेटको फाइनल आज, उपाधिका लागी वेष्टइण्डिज र इंगल्याण्डको टक्कर
काठमाडौं, २१ चैत ।
भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । कोलकाताको ईडन गार्डन रंगशालामा हुने खेलमा इङ्गल्याण्ड र वेष्ट इन्डिज उपाधिका लागि भिड्नेछन् ।
नेपाली समय अनुसार वेलुकी सवा ७ वजे हुने खेलका लागि दुबै टोली तयार छन् । समुह चरणमा यी दुई टोली आमने सामने हुँदा वेष्टइन्डिजले बाजी मारेको थियो ।
इङ्गल्याण्ड आज त्यही हारको बदला लिने दाउमा छ भने वेष्ट इन्डिज पुरानै सफलता दोहोर्याउने अभियानमा छ । इङ्गल्याण्ड र वेष्ट इन्डिजले एक एक पटक विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् ।
यस्तोमा आजको खेल जित्ने टोलीले दोस्रो पटक ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि जित्ने कीर्तिमान बनाउनेछ । दुवै टोलीले जारी विश्वकपमा एक एक वटा खेल हारेका छन् ।
इंग्लण्डलाई समुहको पहिलो खेलमा वेष्ट इन्डिजले हराएको थियो भने वेष्ट इन्डिजलाई समुहको अन्तिम खेलमा अफ्गानिस्तानले स्तब्ध पारेको थियो । जारी विश्वकपमा यी दुवै टोली विष्फोटक व्याटिङका लागि परिचित छन् ।
वेष्ट इन्डिजले प्रतियोगिताकै सर्वाधिक ३६ छक्का प्रहार गरेको छ भने इंग्लण्डले ३४ छक्का प्रहार गरेको छ । तर बलीङतर्फ इंगल्याण्डभन्दा वेष्ट इन्डिजका स्पीनरहरु बढी सफल देखिएका छन् ।
टि ट्वेन्टी क्रिकेटमा यसअघि १३ पटक आमने सामने हुँदा वेष्ट इंडीज ९ पटक विजयी भएको छ भने इंगल्याण्ड ४ पटक मात्रै विजयी भएको छ ।