प्रधानसेनापति क्षेत्री चीन जादै
प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि मित्रराष्ट्र चीनका जनमुक्ति सेनाका प्रमुख फङ फेनघुईको निमन्त्रणामा आज औपचारिक भ्रमणका लागि चीन जादै छन् ।
नेपाली सेनाको प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रधानसेनापति क्षेत्री पहिलोपटक चीन भ्रमणमा जान लागेका हुन् ।प्रधानसेनापतिमा नियुक्त भएपछि छिमेकी मित्रराष्ट्रको औपचारिक भ्रमणको आदान–प्रदान हुने परम्परा छ । प्रधानसेनापति क्षेत्री चीनको छेन्दु हुँदै बेइजिङ जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति क्षेत्रीले चीनमा रहँदा त्यहाँको विभिन्न सैनिक संरचनाबारे स्थलगत जानकारी लिनुका साथै उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्नेछन् । प्रधानसेनापतिका साथमा श्रीमती रीता क्षेत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापालगायत रहनेछन् ।
प्रधानसेनापति क्षेत्रीसहितको उच्चस्तरीय सैनिक टोली चीनको साताव्यापी भ्रमण पूरा गरेर यही चैत २० गते स्वदेश फर्कने कार्यक्रम रहेको सेनाले जनाएको छ ।