
कांग्रेस सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता
काठमाडौं ,१० चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच १३औं महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयकाबारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सो भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई काखा र पाखा नगरी नेता एवं कार्यकर्ताको कामका आधारमा उचित मूल्यांकन गर्न आग्रह गरेका थिए ।
सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अघि बढ्ने र सबैको सल्लाहका आधारमै काम गर्ने बताएका थिए ।
सो भेटवार्तामा १३औं महाधिवेशनपछि केन्द्रीय पदाधिकारीमा गरिने मनोनयन तथा पार्टीको आगामी संसदीय दलका नेताको चयनका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ । रासस
