प्रधानमन्त्री ओली जम्बो टोली लिएर चीन प्रस्थान
काठमाडौं ,७ चैत ।
प्रधानमन्त्री केपी ओली ८ दिने भ्रमणका लागि आइतबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका छन् ।उनी झण्डै सय जनाको टोली लिएर चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् । यसअलावा प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा छन् ।
भ्रमण दलमा कतिपय व्यक्तिहरू चीन घुम्नकै लागि मात्र भए पनि सामेल छन् । प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका ३५ जना यसमा थपिएका छन् । उनी राष्ट्रिय ध्वजावाहक जहाजको सट्टा संचालनमा नै नआएको निजि विमान कम्पनी हिमालय एयरलाइन्सको जहाज चढेर चीन प्रस्थान गरेका हुन् ।
यसपटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ । यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नेछन् । उनले भोलि नै समकक्षी लीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।