परिवारवादको पासोमा परेपछि हारे रामचन्द्र पौडेलले

काठमाडौं , २ चैत

rp poudelपार्टी सभापति को बन्छ ? कार्यकर्ताको हित संरक्षण कसले गर्न सक्छ ? दलहरूसंग मिलेर गणतान्त्रिक संविधान–२०७२ कसले कार्यान्वयन गर्न सक्छ ? अहिले नेपाली कांग्रेसभित्र सर्वाधिक चर्चाको विषय यो हो । तर, सर्वाधिक रोचक विषय भने अर्कै छ । रोचक विषय हो, दिवंगत साधु नेता सुशील दा’ र शेरबहादुर देउवाले रामचन्द्र पौडेलका बारे गरेको टिप्पणी ।

बुढानीलकण्ठ निवासमा देउवाले केही नेता र कार्यकर्ताबीच रामचन्द्रका बारे गरेको टिप्पणी अहिले कांग्रेसभित्र चर्चित विषय बनेको छ । अघिल्लो साता शेरबहादुर रामचन्द्रलाई प्रधानमन्त्री बन्नुस्, संसदीय दलको नेता बन्नुस् भनेर सार्वजनिक रुपमा प्रस्ताव राखे । उता रामचन्द्रले नमान्ने घोषणा गरे ‘प्रधानमन्त्री बन्दिन भनेर रामचन्द्रजीले जवाफ फर्काउनुभयो’ भनेर देउवालाई सुनाइयो । त्यसपछि नेता कार्यकर्ता माझ देउवाले हाँस्दै भने–‘पाए त किन बन्दैनथे, पाउँदै पाउँदिन भन्ने बुझेर बन्दिन भनेका हुन् ।’ देउवाले यति मात्र भनेका भए चर्चाको विषय बन्दैनथ्यो, उनले यसो पनि भने–‘छोरा चिन्तनलाई मन्त्री बनाइदिन्छु भनेर वचन दिने हो भने रामचन्द्रजीले राजनीतिबाटै सन्यास लिन्छन् । तर, छोरा चिन्तनको चाहिं ग्यारेन्टी गरिदिनुपर्छ ।’

कस्ता छन् चिन्तन ?
देउवाले नाम लिएका रामचन्द्रका छोरा चिन्तन कांग्रेसका रोचक र विवादास्पद पात्र हुन् । रामचन्द्रका छोरा चिन्तन अघिल्लो १२ औं महाधिवेशनमा बेलायतमा थिए । उतैबाट महाधिवेशन प्रतिनिध बनेर काठमाडौं आइपुगे । रामचन्द्रका छोरा महाधिवेशन प्रतिनिधि बनेको देखेर सबैजना चकित भए । उनै चिन्तनको पछि मन्त्री बन्नेमा नाम आयो । संविधान बन्नु अघि सभासद् नरहेका व्यक्ति पनि मन्त्री बन्न सक्थे । त्यसैले चिन्तनलाई मन्त्री बनाउन रामचन्द्रले दवाब दिए । सुशीलले ‘चिन्तन बच्चै छ, कसरी मन्त्री बनाउने ?’ भनिदिए । तैपनि रामचन्द्रले कचकच गरेपछि भनेजस्तो र छानेकै जागिर चिन्तनलाई दिलाइदिने वचन सुशीलले दिए । यो कुरा पनि सुशील दा’ले नै सुनाएका हुन् ।

सुशील दा’ले सुनाए अनुसार, त्यसपछि चिन्तनलाई गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्डको उपाध्यक्ष बनाइयो । अत्यन्त मालदार मानिने यो बोर्डको अध्यक्ष भने त्यस बखत चाहिं प्रधानमन्त्री नै थिए । हाल गरीबी मन्त्री अध्यक्ष रहेका छन् । बोर्डको उपाध्यक्ष बनाउन मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गर्नुपर्ने थियो तर एमालेले मानेन । रामचन्द्रको अल्लारे छोरालाई त्यत्रो ठूलो पद कसरी दिने ? एमालेले प्रश्न उठायो । हुन लागेको जागिर धरापमा परेपछि रामचन्द्रले एमालेसंग कुरा मिलाए । सुकुम्वासी समाधान आयोगमा एमालेले आफूखुसी नियुक्त गर्ने, आयोगको जिल्लादेखि केन्द्रसम्म कांग्रेसले थोरै भागमात्र लिने तर चिन्तनले बोर्डको उपाध्यक्ष बन्न पाउनुपर्ने प्रस्ताव रामचन्द्रले राखे ।

एमालेलाई के खोज्छस् कानो, आँखो भनेजस्तो भयो । सुकुम्वासी आयोग एमालेले आफूखुसी बनायो, बदलामा रामचन्द्रले छोरा चिन्तनलाई बोर्डको उपाध्यक्ष बनाए । नत्र, एमालेले सुकुम्वासी आयोगमा कांग्रेसका पनि थप सयौं कार्यकर्ता भर्ना गर्नुपर्ने हुन्थ्यो । कांग्रेसका एक नेताको पुत्रमोहका कारण त्यही पार्टीका सयौं कार्यकर्ताले सुकुम्वासी आयोगमा बसेर कमाउने मौका गुमाए ।

गरीब खोज्न दिल्ली प्रस्थान
सुकुम्वासी आयोगमा सयौं कार्यकर्ताले पाउन लागेको अवसर समाप्त पारेर नियुक्त गरिएका रामचन्द्र पुत्र चिन्तनले बोर्डबाट एउटा अनौठो काम गरे । उनले गरीब खोज्न र अध्ययन गर्न भारतको नयाँ दिल्ली र हैदरावाद जान रहर गरे । उनले रहर गरेपछि सरकारी खर्चमा जाने व्यवस्था मिलाउन मन्त्रिपरिषद्मा प्रस्ताव पठाइयो तर मन्त्रिपरिषद्ले प्रस्ताव अगाडि बढाएन । बोर्डले पठाएको प्रस्तावमा उपाध्यक्ष चिन्तन र उनका केही साथीहरूको नाम थियो ।

प्रस्ताव पारित गर्न सम्भव नभएपछि बोर्डसंगै सम्बन्धित नौजनाको नाम मन्त्रिपरिषद्मा पठाइयो तर सुशीलले गरीब खोज्न भारत जानुपर्दैन भन्दै हपारे । सुशीलले चिन्तनलाई नै बोलाएर यस्तो काम नगर्नु भन्दै हपारेको बताइन्छ । त्यसपछि छोरा चिन्तनको रहर पूरा गरिदिन पिता रामचन्द्र आफै अगाडि सरे । उनले सुशील दा’लाई थर्काए । त्यसपछि मन्त्रिपरिषद्को वैठकले सहकारी मन्त्रालयले खर्च व्यहोर्ने गरी चिन्तनको टोलीलाई नयाँ दिल्ली पठाउने प्रस्ताव पारित गर्‍यो । रामचन्द्र पुत्र चिन्तनको विदेश भ्रमणको रहर पूरा गर्ने प्रस्ताव पारित गर्नकै लागि २०७२ वैशाख ३ गते विहीबार मन्त्रिपरिषद्को बैठक दुई पटक बस्नुपरेको थियो ।

परिवारप्रेमी रामचन्द्र
सन्तान, सम्धी तथा नाताकुटुम्बको असाध्यै हेरविचार गर्ने गरेका छन् रामचन्द्रले । यस्तै हेरविचार कार्यकर्ताको गर्दै आएको भए उनलाई पार्टी सभापतिमा कसैले जित्न सक्दैनथ्यो । तर, अहिले रामचन्द्र सभापति जित्नेभन्दा पनि कृष्ण सिटौलाले भन्दा धेरै भोट ल्याएर देखाउने चुनौती भोगिरहेका छन् । रामचन्द्रलाई सम्धी तारणीदत्त चटौतको ठूलो भरोसा थियो तर उनले कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि चुनाव हारेका छन् ।

अर्का सम्धी युवराज भुषाल कांग्रेसको सरकार गठन भएकै दिन अर्थ सचिव बनाइएका थिए । त्यसपछि उनी प्रशासनिक प्रशिक्षण केन्द्रको निर्देशक बनाइए । भुषाललाई मुख्य सचिव बनाउन रामचन्द्रले शिरदेखि पाइतालासम्मको बल लगाएका थिए तर सोमनाथ सुवेदीले त्यो पद पड्काए । सम्धी भुषाललाई मुख्य सचिव बनाउन नसकेपछि रामचन्द्रले नेपाल राष्ट्रबैंकको गभर्नर पद ताके । सो पदमा भुषाललाई राख्न रामचन्द्रले निकै ठूलो लफडा गरेका थिए । सुशील दा’ किचेन क्याविनेटभित्र यस्तै रामचन्द्रले दिएका यस्तै पीडा सुनाउथें ।

उता ज्वाईंसा’ब परमेश्वर पोख्रेललाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा राज्यमन्त्री सरहको अध्यक्ष बनाउन पनि रामचन्द्रले निकै कसरत गरे । त्यसमा असफल भएपछि खानेपानी संस्थानको अध्यक्ष बनाउन भने सफल भए । त्यसबाहेक उनले सचिव पदबाट अवकाश पाएका बाबुराम आचार्यलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको प्रशासनिक सल्लाहकार बनाएरै छाडे । बाबुराम पनि उनका नातेदार हुन् । कांग्रेसको जिउँदो इतिहासमा रामचन्द्रले बाहुबल लगाएर अर्को पनि इतिहास राखेका छन् । त्यो हो, कांग्रेस निकट वकिलहरूको संगठन–डेमोक्रेटिक ल एशोसियसन । डीएलएमा आफूले भनेकै मानिस अध्यक्ष हुनु पर्ने अडान रामचन्द्रले लिए । रामचन्द्रका लागि अध्यक्ष बन्नै पर्ने ब्यक्ति थिए गोपालकृष्ण घिमिरे । घिमिरेलाई अध्यक्ष बनाउन कांग्रेसका वकिलहरू असहमत भएपछि रामचन्द्रले डीएलएलाई दुई टुक्रा पारेर कांग्रेसीजनलाई उतिबेलै देखाई दिए ।

मध्य रातमा झण्डै महापञ्च
२०४४ सालमा सुधारिएको पंचायतको अन्तिम नेतृत्व तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गर्दैथिए । यसै बखत कांग्रेसका युवा नेता रामचन्द्र पौडेलले कुनै राम्रो पदको अवसर पाए भने पंचायतमा प्रवेश गर्छन् भन्ने सन्देश शाही नेपाली सेना मार्फत राजदरवारमा पुग्यो र राजदरवारले गण्डकी अंचलाधीशलाई रामचन्द्रलाई गोप्य रुपमा सम्पर्क गर्न निर्देशन दियो । राजदरवारको हु.प्र. अनुसार तत्कालीन गण्डकी अंचलाधीशले सुरक्षाकर्मी परिचालन गरेर रातको १२ बजे तनहँुबाट रामचन्द्र पौडेललाई पोखरा झिकाईयो । रातभर छलफल हुँदा रामचन्द्रले पंचायत नीति तथा जाँचबुझ समिति(गाउँफर्क राष्ट्रिय अभियान)को केन्द्रीय सदस्य पाएमा पंचायतमा प्रवेश गर्ने प्रस्ताव राखे । अंचलाधीशले मध्येरातमा सरसल्लाह गर्दा पंचायत नीति तथा जाँचबुझ समितिको अञ्चल सदस्यभन्दा माथि दिन नसकिने बताएपछि प्रतिबन्धित नेपाली कांग्रेसका होनाहार युवा नेता रामचन्द्र पौडेल महापञ्च बन्नबाट बालबाल बचेका थिए । -साँघुबाट