मंसिर ६ मा दुइदिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, सार्वजनिक भएन एजेन्डा

मूलखबर संवाददाता
काठमाडौं

नेपालकाे कार्यकारी प्रधानमन्त्री बनेेकाे ९ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह छिमेकी देश भारतकाे भ्रमणमा जाँदैछन् । शाह यहि मंसिर ६ गते पहिलो ओैपचारिक विदेश भ्रमणको रूपमा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दुई दिनको मात्रै हुने भएको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ६ मंसिरको अपराह्न १:२५ बजे नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने छन् ।

त्यस्तै, उनी ७ मंसिरको ४:२० बजेको नेपाल वायुसेवा निगमकै नियमित उडानबाट नेपाल फर्कने पनि परराष्ट्र स्रोतले बताएको छ ।   नेपाली समयअनुसार ६ मंसिरको करिब ३ बजे दिल्ली पुग्ने प्रधानमन्त्री भोलिपल्ट साढे चार बजे स्वदेश फर्कंदा करिब साढे २५ घन्टा दिल्लीमा बिताउने छन् ।

प्रधानमन्त्री शाहसँग भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री गनेश पौडेललगायत पनि भ्रमण टोलीमा हुनेछन् ।

उनको भ्रमणका मुख्य एजेन्डा

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल भारतबीचमा लामो समयदेखि थाती रहेका विषयहरू नै एजेन्डाका रुपमा रहने सरकारी स्रोतहरूले जनाएका छन् ।

भ्रमणमा पछिल्लो रसुवा बाढीपछिकाे पुननिर्माण र विकास, हवाई रूटकाे अनुमतिका विषय पनि रहने स्राेतले बताएको छ ।

नेपाललाई अनुदान तथा सहुलियतपूर्ण ऋणसहित गरेर २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोगको अनुरोध नेपालले गरेको स्रोतहरूले जनाएका छन् ।  यसप्रति भारत सकारात्मक रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

यद्यपि भ्रमणको तालिका र आधिकारिक एजेन्डा हालसम्म सार्वजनिक गरिएको छैन ।