`सानो–ठूलो सबै राष्ट्रको सार्वभौमिकता समान हुनुपर्छ’- प्रचण्ड
मस्कोमा प्रचण्डको सम्बोधन :`सानो–ठूलो सबै राष्ट्रको सार्वभौमिकता समान हुनुपर्छ’
मस्को । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन्।
‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ नाम दिइएको अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभामा सम्बोधन गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र नेपाली जनताको तर्फबाट आफ्नो धारणा राखेका हुन्।
सम्मेलनमा आयोजक दल ‘युनाइटेड रसिया’का संयोजक भी. याकुशेभले अवधारणापत्र प्रस्तुत गरेका थिए भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सन्देशमार्फत सम्मेलनलाई सम्बोधन गरेका थिए।
चीन, भारत, अफ्रिका, अमेरिका तथा युरोपलगायत ७६ देशका ४८० प्रतिनिधि सहभागी सम्मेलनमा विभिन्न मुलुकका राजनीतिक दल, राष्ट्रिय मुक्ति आन्दोलन तथा प्रगतिशील संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ।
सम्बोधनका क्रममा प्रचण्डले राजनीतिक स्वतन्त्रतासँगै आर्थिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र प्रविधिमाथिको आत्मनिर्भरता पनि महत्त्वपूर्ण रहेको धारणा राखेका थिए। उनले विश्व राजनीतिमा बढ्दो शक्ति प्रतिस्पर्धा, आर्थिक निर्भरता र नवऔपनिवेशिक प्रभावका विषय उठाउँदै राष्ट्रहरूबीच समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यकता औँल्याएका थिए।
उनले संयुक्त राष्ट्रसंघलाई थप लोकतान्त्रिक र प्रभावकारी बनाउनुपर्ने तथा अन्तर्राष्ट्रिय विवादको समाधान युद्धभन्दा संवाद र कूटनीतिमार्फत खोजिनुपर्ने धारणा पनि व्यक्त गरेका थिए।
यस सहभागितालाई नेपाली कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय राजनीतिक संवादमा नेपालको धारणा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ। सम्मेलनमा उठेका विषय र विचारले विभिन्न देशका राजनीतिक शक्तिबीच आपसी समझदारी तथा सहकार्यको सम्भावनाबारे छलफल गर्ने मञ्च प्रदान गरेको छ।
तस्बिर तथा थप विवरण : प्रचण्डको सचिवालय





