लमजुङकाे भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ हेटौँडामा मृत फेला

मूलखबर संवाददाता
काठमाडौं

लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मकवानपुरको हेटौँडामा मृत फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका– ३, पोखरीटोल स्थायी घर भएका गुरुङ मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका– ८, ओमनगरमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ओमनगर गेटनजिक बिहान करिब ४ः३० बजे गुरुङ मृत अवस्थामा फेला परेका थिए । मर्निङवाकमा निस्किएका एक व्यक्तिले उनलाई देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए ।

प्रहरी सहायक हवल्दार गुरुङ लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहे पनि उनको परिवार हेटौँडा– ८, कमानेमा कोठा लिएर बस्दै आएकाे थियाे । मकवानपुर प्रहरीका अनुसार उनी आफ्नो कोठाअगाडि बनाएको ट्रस्टको फलामको पाइपमा प्लास्टिकको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा के उल्लेख छ भन्ने विषय भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । मृतक गुरुङको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।