चितवन राइनोजलाई हराउँदै काठमान्डु गोर्खाज शीर्ष स्थानमा
नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लिएको छ । लगातार चौथो खेल जित्दै नेपाल प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको हाे। काठमान्डुले सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्यो ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएयता काठमान्डुले लगातार खेल जित्दै आएको छ र यस जितले टोलीको प्लेअफमा स्थान लगभग पक्का गरेको छ । काठमान्डुको ५ खेलमा ८ अंक पुगेको छ । टोलीले लुम्बिनी लायन्सलाई १ अंकले पछाडि पारेको हो । चितवन ५ खेलमा ५ अंकसहित चौथो स्थानमा छ ।
चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो । रबि बोपाराले अर्धशतक बनाए पनि जबाफमा आएको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ७ विकेट गुमाई १ सय ७० रन मात्र बनाउन सक्यो ।
अर्जुन साउद र कामिल मिसराले ५ ओभर भित्र ४८ रन जोडि चितवनलाई राम्रो सुरुआत दिलाएका थिए । सन्तोष यादवले अर्जुनलाई बोल्ड गरि यो साझेदारी तोडेका थिए । अर्जुनले २१ बल खेली ४ चौकासहित २३ रन बनाए । श्रीलंकाली खेलाडी मिसराले ११ बल खेली १ चौका र ३ छक्कासहित २८ रन बनाए । अर्का श्रीलंकन खेलाडी सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमले सानदार रनिङ क्याच लिएर मिसरालाई पेभेलियन फर्काएका थिए ।





