कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

रासस
अन्ताल्या (टर्किए), २४ कात्तिकः

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ ।

कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले आज पेभिलियन उद्घाटन गर्नुभएको हो । नेपालको जलवायु महत्वाकांक्षा प्रतिबिम्बित गर्ने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका पहल प्रदर्शन गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको जोखिमबारे विश्वको ध्यानाकर्षण गराउनुभयो । उहाँले हिमनदी तथा हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिनुभयो । नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा बढी जोखिम वहन गर्नुपरेको उहाँको भनाइ थियो ।

मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोग सहज र सुलभ बनाउन तथा हिमाली क्षेत्रमा उत्थानशीलता निर्माण र तल्लो तटीय क्षेत्रको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले यस विषयमा नेपालको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री नीशा मेहता, सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत विशिष्ट प्रतिनिधिले पनि सम्बोधन गर्नुभएको थियो ।

यसैबीच, परराष्ट्रमन्त्री खनाल कोप–३१ को उद्घाटन पूर्ण सत्रमा सहभागी हुनुभयो । सो अवसरमा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले सम्मेलनको अध्यक्षता तथा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले वार्ता प्रक्रियाको अध्यक्षता सम्हाल्नुभएको छ ।